समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन आइतबार

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आइतबार समापन हुँदैछ ।

लगानीको सम्वर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन भन्ने नाराका साथ मंसिर २५ गतेबाट सुरु भएको मेला समापनमा गण्डकी प्रदेशका पर्यटन, उयोग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा प्रमुख अतिथि रहने संघका महासचिव बलराम आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार मेला समापनको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितका अतिथिहरु पनि उपस्थित रहनेछन् ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्देश्यले आयोजित मेलाले समग्र गण्डकीको पर्यटन प्रवद्र्धनको लागि पनि उत्तिकै जोड दिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।

footwear zone

पोखरा औद्योगिक क्षेत्रमा उत्पादित सामग्रीहरु, हस्तकला, कृषिका स्टलहरुमार्फत् स्थानीय उत्पादनहरुको प्रवद्र्धन गरिएको उनले बताए ।
मेला नाफा–घाटा खोज्ने थलो नभएर समग्र अर्थतन्त्र चलायनमान बनाउने यज्ञ भएको जिकिर गर्दै उनले भने, ‘मेलाले तत्कालको लागि लाभ दिने हैन, अहिले गरिएको प्रवद्र्धनले भोलिको व्यवसाय बढाउने हो, हामी हाम्रो उद्देश्यमा सफल भएका छौँ ।’

संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको अन्तिम दिनमा भारी छुटमा सामान बिक्री भइरहेको जानकारी दिए । उनले छुटमा घरायसी तथा गुणस्तरीय सामग्री खरिद गर्ने अवसर नगुमाउन पोखरेलीलाई आग्रह पनि गरे । मेला सांस्कृतिक उपसमिति संयोजक शोभा गौतमका अनुसार आइतबार पनि सांस्कृतिक कार्यक्रमहरु जारी रहनेछन् ।

You might also like

Comments are closed.