पिसिआर परीक्षण नबढ्दा गाउँभरि सङ्क्रमित

बलेवा । कोरोनाको सङ्क्रमण भुसको आगो झैँ सल्किएपनि नगरपालिकाले पिसीआर गर्ने काममा अझै आलटाल गरिरहेको स्थानीयले आरोप लगाएका छन् । पटकपटकका दबाबपछि बागलुङको ढोरपाटन नगरपालिकामा गरिएको केही परीक्षणमा ८० प्रतिशतसम्म सङ्क्रमित भेटिए पनि जनप्रतिनिधिले अझैपनि चासो नदेखाउँदा गाउँमा सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

नगरपालिकामा तत्कालीन गाविस अध्यक्षसहित चार जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । पालिकामा भएको भिटिएम पनि प्रयोगमा आई नसकेकाले परीक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्य शाखाका प्रमुख घनश्याम चालिसेले बताए । पालिका तहबाट वडा नं। ९ को केही स्थानमा मात्रै परीक्षण भएको हो ।

नगरपालिकाको चासो नदेखाएपछि वडा नं। ४ ले आफ्नै पहलमा परीक्षण थालेको जनाएको छ । ‘‘समयमा परीक्षण नगर्दा गम्भीर बिरामी भएपछि मात्रै अस्पताल आउनेहरुले ज्यान गुमाइरहेका छन्’’, स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘‘घर घरमा रोगको भयावह अवस्था छ, त्यो खोजी हुन सकेको छैन ।’’

footwear zone

गत वैशाख पहिलो सातादेखिको निशेधाज्ञा पालना नहुँदा सङ्क्रमण फैलिएको स्वास्थ्यकर्मीको टिप्पणी छ । ‘‘विवाह भोजले गाउँ तहसम्म सङ्क्रमण फैलियो, अहिले शङ्कास्पद सङ्क्रमितको मलामी पनि उत्तिकै भीड छ’’,बडिगाड गाउँपालिकाको स्वास्थ्य प्रमुख चुडामणी कँडेलले भने, ‘‘सयौं सङ्क्रमित थपिने खतरा बढिरहेको छ ।’’ अझै पनि पालिका तहबाट परीक्षणको दायरा बढाउने कुरा नचलेको उनले टिप्पणी गरे । परीक्षण गर्ने र सङ्क्रमितलाई अलग नगरेसम्म महिनौ निशेधाज्ञा लगाएपनि नियन्त्रण नहुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

जिल्लामा बिहीबारसम्म एक हजार सक्रिय सङ्क्रमित पुगिसकेका छन् । परीक्षण गरिएकामध्ये ६० देखि ८० प्रतिशतसम्म सङ्क्रमित भेटिएका छन् ।
­­­

You might also like

Comments are closed.