निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग सामेबार भएको भेटमा उनले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए ।

“हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ”, प्रधानमन्त्री देउवाले भने, “तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ ।” परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

footwear zone

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको सङ्कटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताए । “कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौती हो”, उनले भने ।

भेटमा परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे ।

“आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ”, उनले भने, “यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ ।” अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए ।

यसैगरी परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान सङ्कटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा परिसङ्घका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.