पोखरा । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न वस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका हुन् ।
‘चाडवाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री–बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’,उनले भने,‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ,सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’ अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाड लक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीहरुसँग आग्रह गरे । अनुगमनको नाममा हुने अनावश्यक धरपकड भने अस्वीकार्य हुने उनको भनाइ छ ।
वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आफ्ना समस्याहरुबारे जानकारी दिन आग्रह गर्दै उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ हरेक व्यवसायीका समस्या समाधान गर्न प्रयत्नशील छ, तर ती समस्याबारे हामीलाई जानकारी दिनुहोस् ।’उनले तालिम र गोष्ठीको माध्यमबाट व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्घोष पनि गरे ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले व्यवसायीहरुको सरोकार रहेको घरभाडा, न्यून विजीकरण, बैंक व्याजलगायतका समस्याहरुबारे संघले निरन्तर पैरवी गरिरहेको जानकारी गराए । उनले वैधानिक तरिकाले व्यवसाय गर्नेहरुको सुरक्षा पोखरा उद्योग वाणिज्य संघको पहिलो प्राथमिकता रहेको बताउँदै व्यवसायको नाममा इस्टमेट लेखिएको कागजमा विल काट्नेहरुको संरक्षण भने गर्न नसकिने बताए ।
महासचिव बलराम आचार्यको संचालन र वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यको संचालन रहेको सो कार्यक्रममा आफ्ना धारणा राख्दै संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चाडवाड लक्षित सुव्यवस्थित बजार पोखरा उद्योग वाणिज्य संघको चाहना भएको बताए । उनले चाडवाडको बेला हुने बजार अनुगमनको नाममा व्यापारीको मानमर्दन नगर्न प्रशासनसँग आग्रह पनि गरे ।
कार्यक्रममा बोल्दै कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष तथा संघकी पूर्वकार्यसमिति सदस्य सीता गुरुङले कच्चा पदार्थको मूल्य बढ्दा हस्तकला उद्योग संकटमा परेको बताइन् । पोखरा हार्डवयर एसोसियनका अध्यक्ष शेषकान्त ढकालले चाडवाडमा अखाद्य वस्तुको बिक्री–वितरण नगर्न व्यवसायीहरुसँग आग्रह गरे ।
त्यस्तै, अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठले माल ढुवानी गर्ने साधनको स्वरुप बिगारेको आरोपसहित आफूहरुमाथि प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको गुनासो गरे । पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्यूरेले घरबहाल करलाई एकीकृत सम्पत्ति करसँगै उठाउने व्यवस्था हुनुपर्ने माग गरे । साँघुमुख महेन्द्रपुल व्यवसायी संघका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले पोउवा संघले आयोजना गर्ने मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री हुनुपर्ने माग गरे ।
पोखरा फेब्रिकेटर्स एसोसियसनका अध्यक्ष विश्वप्रकाश श्रेष्ठले नेपालको कर नीति राजश्व संकलनमा मात्रै केन्द्रित भएकाले त्यसमा सुधार जरुरी भएको बताए । नेपाल सुनचाँदी तथा रत्न आभुषण संघका अध्यक्ष रामबहादुर विश्वकर्माले राजधानी बाहिरका व्यवसायीहरुले काँचो सुन नपाएको गुनासो गरे ।
बगर व्यवसायी कल्याणकारीका अध्यक्ष प्रकाश बास्तोलाले पोखरा उद्योग वाणिज्य संघले वस्तुगत संघ र सरकारबीच पुलको काम गरोस् भन्ने कामना व्यक्त गरे । पशुपंक्षी तथा औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सापकोटाले सहकार्यले मात्रै समृद्धि हाँसिल हुने बताए ।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठले मुद्रण उद्योगमा दक्ष जनशक्ति अभाव भएको बताउँदै जनशक्ति उत्पादनमा लाग्न संघसँग अनुरोध गरे । पोखरा महानगर चेम्बर अफ कमर्सका अध्यक्ष सविन जिसीले दसैंको बेला सरकारी तवरबाट दिइने छुटहरु काठमाडौं केन्द्रीत भएको गुनासो गरे ।




Comments are closed.