एघारौं पोखरा महोत्सवलाई संघ संस्थाले सहयोग गर्ने

पोखरा । एघारौं पोखरा महोत्सवमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको छन् । युनाईटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन समारोहमा पोखरा रंगशालादेखि महोत्सव स्थल अमरसिंह चौरसम्म झांकी र्यालीमा सहभागी भइ सहयोग गर्ने भएको हो ।

बिहीबार अमरसिंह चौरमा आयोजित ११ औं पोखरा महोत्सवको अवसरमा आयोजित संघ संस्थाहरुको छलफलमा सहभागी भएकाहरुले पोखरा महोत्सव समग्र पोखरेलीहरुको महोत्सव भएकाले सम्पूर्ण संघ संस्थाहरुले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ पोखरा महानगर उपाध्यक्ष रामबहादुर तामाङले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवको माध्यामबाट सामाजिक काम गर्ने भएकाले सम्पूर्ण संघ संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडिया खाना निर्माण जस्तो महत्वपूर्ण काम भइरहेको बताउँदै तामाङले महोत्सवको माध्यमबाट आफुहरुको संस्कृतिको प्रवद्र्धन हुने भएकाले समपूर्ण संघ संस्थाहरुले आफुहरुको पहिचान झल्कने झांकी र रयालीलाई महोत्सवमा सहभागीता गराउनु पर्नेमा उनले जोड दिएका थिए ।

footwear zone

त्यस्तै विशालनगर आमा समुहकी शान्ता देवकोटाले पोखरा महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र महोत्सव अवधिभरमा विभिन्न समुदायको संस्कृति झल्कने झांकीहरु समेत प्रस्तुत गर्दै आइरहेकाले सम्पुर्ण पोखरेलीहरुले साथ दिन आवश्यक रहेको बताइन् । देवकोटाले पोखरा महोत्सवको अवसरमा महिला दिदी बहिनीहरुलाई लक्षित गरी हस्तकलाको सामग्री निर्माणको निःशुल्क तालिम प्रदान गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनतर्फ लागेकोमा समेत खुसी ब्यक्त गरिन् ।

छलफल कार्यक्रममा बोल्दै युनाईटेड क्लवका अध्यक्ष तथा पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले पोखरा महोत्सव सम्पूर्ण पोखरेली र पोखरामा रहेको संघ संस्थाहरुको सहयोगकै कारण एघारौं संस्करणसम्म आइपुगेको बताउदै आगामी महोत्सवहरुमा समेत सम्पूर्णले सहयोग गरिदिन आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक काममा लाग्नु आफैमा चुनौती रहे पनि सम्पूर्ण पोखरेलीहरुको सहयोगकै कारण पोखरा महोत्सव ११ औं संस्करणसम्म आइपुगेको उनको भनाइ थियो ।

सो अवसरमा सगरमाथा टोल विकास संसथाका बमबहादुर गुरुङ, सिंगापुर टोल विकास संस्थाका धनबहादुर गुरुङ, किरण भट्टचन, स्याङजा भुजेल सम्पर्क मञ्चका रविन्द्र थापा, प्रगतिशील टोल विकास संस्थाका अग्नीप्रसाद श्रेष्ठ, पोखरा १३ की लक्ष्मी केसी, घिरिङ होम स्टेका संचालक मानबहादुर रानामगरलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

त्यस्तै, युनाईटेड क्लवका पूर्व अध्यक्ष तथा ११ औं पोखरा महोत्सवका संघ सस्था समन्वय व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सचिव तथा ११ औं पोखरा महोत्सव झांकी तथा र्याली व्यवस्थापन उपसमिति संयोजक पूर्णकला पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रमको संचालन युनाईटेड क्ल्बका महासिचव तथा एघारौ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिए ।

You might also like

Comments are closed.