स्थानीय ब्यापारीको दबाबमा पोखरा महानगर, व्यवसाय दर्तामा दोहोरो नीति !

पोखरा । जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित १० जना उद्योगीले पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ स्थापना गरे । साउन ५ गते शुक्रबार सुरु भएको उक्त बिजनेस सेन्टरलाई ४ दिनपछि मंगलबार पोखरा महानगरपालिकाले बन्द गराएको छ ।

बिजनेस सेन्टरमा जुत्ता चप्पलको बिक्री कक्ष राखेका दशवटै कम्पनीले घरेलु लगायतका कार्यालयमा दर्ता गरी पान नम्बरसमेत लिइसकेका छन् । तर, पोखरा महानगरले उनीहरुलाई व्यवसाय गर्न निरुत्साहित गरेको तथ्य फेला परेको छ । पोखरामा बिजनेस सेन्टर स्थापना गरेर पोखरा महानगरपालिकामा समेत दर्ता गर्नका लागि उनीहरुले कागजातसहित निवेदन दिएका छन् । पोखरा वडा नंं ८ मा उनीहरुले दर्ताका लागि निवेदन दिएका हुन् । तर, वडाले एउटा मात्रै कम्पनीलाई दर्ता गरेको छ । अन्य कम्पनीलाई दर्ता गर्नबाट रोकेको छ । सोही घरमा सोही प्रकारको व्यवसाय गर्नका लागि आवश्यक कागजातसहित निवेदन दिने एउटा कम्पनीको दर्ता गर्ने र अन्य कम्पनीको दर्ता नगर्नुको कारण के हो ? व्यवसायी सबिन कार्की महानगरलाई प्रश्न गर्छन् ।

यस विषयमा पोखरा वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालसँग जिज्ञासा राख्दा केही कागजात पुरा नभएकाले दर्ता प्रक्रिया रोकिएको बताउँछन् । व्यवसायीले दर्ताका लागि वडामा निवेदन दिएको उनले स्वीकार गरे । व्यवसाय सञ्चालन भएको घरका घरधनी वीरेन्द्र गुरुङको घरको निर्माण सम्पन्नको कागजात नभएकाले दर्ता रोकिएको महानगरले बताएको छ । यद्यपि, सोही घरमा सोही प्रक्रियाबाट व्यवसाय सुरु गर्न लागेका व्यवसायी विकास खत्रीको व्यवसाय भने दर्ता भएको छ । अन्य व्यवसायीको व्यवसाय दर्ता नगरेर उनीहरुलाई व्यापार गर्नबाट महानगरले निरुत्साहित गरेको व्यवसायीहरुको आरोप छ ।

footwear zone

घरधनी वीरेन्द्र गुरुङले घर सम्पन्नको प्रमाणपत्र लिनका लागि आफू तयार रहेको र वडामा गएर अमिन पठाउन आग्रह गर्दा अमिन काजमा गएको बताउँदै नापजाँच गर्नसमेत आनाकानी गरेको जानकारी दिए । ‘अहिले अमिन फिर्केको काममा काजमा गएको बताइयो । महानगरमा अन्य अमिन छैनन् ?’ उनले प्रश्न गरे । जसरी हुन्छ व्यवसाय दर्ता गर्न अप्ठ्यारो अवस्था सिर्जना गर्दै उनीहरुलाई व्यापार गर्नबाट रोक्ने अभियानमा पोखरा महानगर लागेको उद्योगी रुद्र न्यौपाने बताउँछन् । ‘हामी सबै प्रक्रिया पुरा गरेर व्यवसाय सञ्चालन गर्न सधैं तयार नै छौं । तर पोखरा महानगरले स्थानीय व्यापारीसँग मिलेर हामीलाई पोखरामा व्यापार गर्न नदिने वातावरण बनाउन चाहन्छ,’ उनले भने, ‘महानगरको यो रबैया उपभोक्ता माथिको खेलवाड हो ।’

उत्पादकहरु आफै पोखरा गएर उपभोक्तालाई सहुलियतमा जुत्ता चप्पल बिक्री गर्दा महानगरले खुल्ला हृदयका साथ स्वागत गर्नुपर्नेमा निरुत्साहित गर्ने काम गरेको न्यौपाने बताउँछन् । ‘मेयर धनराज आचार्यले मुठ्ठीभरका थोरै व्यवसायीको कुरा सुनेर पोखरा महानगरपालिकाबासीको अधिकारलाई कुण्ठित बनाउने काम गरेको हामीले पाएका छौं,’ उनले भने ।

पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले महानगरमा दर्ता नभएकाले केही समयका लागि मात्रै सटर बन्द गरिएको बताए । ‘वडामा पठाएका छौं । दर्ता भएपछि पुनः व्यवसायी सुरु हुन्छ,’ उनले भने । तर, आफूहरुले असारदेखि महानगरमा दर्ता गर्नका लागि ताकेता गरिरहेको व्यवसायीहरु बताउँछन् । ‘असारमा जाँदा साउनमा आउन भनियो । साउनमा जाँदा पनि विभिन्न बाहना बनाएर दर्ता गर्न दिइँदैन,’ न्यौपानेले भने ।

१० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको साउन ५ गते गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका थिए । १० कम्पनीको संयुक्त शोरुममा शिखर, सु-ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता चप्पल बिक्रीका लागि राखिएको थियो ।

You might also like

Comments are closed.