सुरेन्द्र पौडेल, पोखरा । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी लक्जरी सर्भिस अपार्टमेन्ट निर्माण भएको छ । युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले लेकसाइडस्थित वाराही पथमा ‘पोम्स पेन्टहाउस’ निर्माण गरेका हुन् ।
एक रोपनी जग्गामा करिब १२ करोड रुपैयाँको लगानीमा अपार्टमेन्ट निर्माण गरिएको श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए । अबको एक महिनाभित्र अपार्टमेन्ट सञ्चालनमा आउने उनले बताए । ‘पोम्स पेन्टहाउसमा २१ वटा अपार्टमेन्ट छन्,’ श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने गरी सेवा सुरु हुनेछ ।’
घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध हुने उनले जानकारी दिए । ‘किचन, ग्याँस, भाँडाकुडा लगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा हामी पाहुना तथा पर्यटकलाई उपलब्ध गराउँछौं,’ उनले भने, ‘आफूलाई मनपर्ने खाने कुरा मात्रै आफ्नो चाहना अनुसार खरिद गर्न सक्नुहुनेछ ।’ अपार्टमेन्टको रुफटपमा ज्याकुजीको सुविधा उपलब्ध हुने श्रेष्ठले जानकारी दिए ।

पोखरामा परिवारसहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने श्रेष्ठले बताए । ‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ,’ उनले भने । यद्यपि, एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए । पारिवारिक वातावरणमा सेवा लिन चाहनेहरुका लागि अपार्टमेन्टमा स्तरीय सेवा प्रदान हुने उनले बताए ।
छिट्टै आकर्षक प्याकेजसहित घोषणा गरिने श्रेष्ठले जानकारी दिए ।




Comments are closed.