स्याउपछि मुस्ताङमा आलुखेती फस्टाउँदै

काठमाडौं । स्याउखेतीको मुख्य केन्द्र भनेर चिनिने मुस्ताङमा पछिल्लो समयमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बन्न पुगेको छ ।

मुस्ताङ कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको बताएका छन् । उनका अनुसार मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उनले मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुने बताए । उनले गत वर्ष रु ३३ करोड मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको जानकारी दिए ।

footwear zone

“स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो”, उनले भने, “कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।”

प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ ।

उनका अनुसार आलु एक पाथीको १ सय ५० देखि २ सय १० रुपैयाँमा बिक्री हुने गरेको छ । एक पाथीमा औसत ३ किलो आलु हुने गर्छ । उनका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् ।

मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् । मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौं, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ ।

मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग किराको समस्या देखिएको छैन ।

 

You might also like

Comments are closed.