युवा बैंकर प्रवेशले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

काठमाडौं । हाल अमेरिकामा कार्यरत एक युवा बैंकर, प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन्।

मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरस्कार प्रदान गर्ने गरेको छ।
” हामीले पुरस्काररको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा माग जस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौं। युवा बैंकर, प्रवेश रिजाल, ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो,”जीसीआइएफले भनेको छ।

अमेरिकाका सबैभन्दा ठूला बैंकहरुमध्ये एक सिटि ग्रुपमा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा बैंक क्रस रिभरमा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन्।

footwear zone

“मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधि सम्बन्धी (फिनटेक) कम्पनीहरुलाई पूँजी बजारसंग जोड्न मदत गर्नु हो,” रिजालले भने। “हामीले गणित र वित्तको माध्यमबाट पूँजी बजारको अनुमान गर्छौं र ब्यांकको पूँजीलाई कसरी लगानी गर्ने भन्ने निधो गर्छौं। हामीले प्रत्येक वर्ष वैकल्पिक कर्जा प्ल्याटफर्महरुबाट अरबौं डलर खरिद गरी हेज फन्ड, ठूला लगानी ब्यांकहरु र अन्य ब्यांकहरुलाई बिक्री गर्न सघाउंछौं।”

एउटा नेपालीबैंकको सल्लाहकारको रुपमा पनि काम गरिसकेका प्रवेशले विश्व पूँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफुले चाहेको बताए। उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको संचालक समिति सदस्यको रुपमा पनि काम गरिरहेका छन्।

बैंकहरुको सामाजिक दायित्व

गत वर्ष कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पुराएको असर न्यूनीकरण गर्न प्रवेशले नेपाली बैंकहरुलाई सामाजिक दायित्व अन्तर्गत अर्थतन्त्रलाई चलायमान गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। तर अहिले त्यतिले मात्रै नपुग्ने उनको आंकलन छ। “नेपालका ब्यांकहरुमा कर्जा जोखिम तुलनात्मक रुपमा नियन्त्रित रहंदै आएको छ। यसको अलि अलि वृद्धिले खासै असर पर्दैन, तर राष्ट्र ब्यांकको ध्यान उत्पादनका साधनहरु कसरी बढाउने तर्फ हुनुपर्छ। मुख्य कुरा विश्व बजारमा हामीले कसरी आफ्नो उपस्थिति देखाउन सक्छौं भन्ने नै हो। अर्थतन्त्रको पुनर्निर्माणका लागि काम गर्दा त्यो नै निर्देशक प्रश्न हुनु पर्छ जस्तो मलाई लाग्छ,” उनले भने।

बिराटनगरमा जन्मिएका प्रवेशले न्यूयोर्क विश्वविद्यालयबाट वित्तीय इञ्जिनियरिंग विषयमा स्नातकोत्तर गरेका छन्।

You might also like

Comments are closed.