कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै जोखिम मोलेर सुत्केरीको संख्या शून्यमा झरेको छ । संस्थागत सुत्केरी हुनेको संख्या सय प्रतिशत पुगेको छ । घरमा हुने सुत्केरीलाई जनचेतनाको प्रभावका कारण निरुत्साहित गरी शून्य प्रतिशतमा झारिएको नगरपालिकाको स्वास्थ्य शाखाका वरिष्ठ अहेब अधिकृत हरि नाथले बताए ।
“घरमै सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्ने कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको अहम् भूमिका छ,” उनले भने, “घरमै सुत्केरी हुँदा हुने जटिलताका बारेमा महिला स्वयंसेविकाले सुत्केरी हुनेको घरमै पुगेर जानकारी दिन थालेपछि सुत्केरीले स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउँदै आएका छन् ।”
नियमित गर्भजाँचसँगै पोषणयुक्त आहारका लागि सुत्केरीले स्वयंसेविकाबाट सल्लाहसमेत लिने गरेका छन् । नगरपालिकाको पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्य चौकी र वन्साहा सहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । सुरक्षित सुत्केरीका लागि चौबिसै घण्टा बर्थिङ सेन्टरबाट दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा दिने व्यवस्था गरिएको छ ।

जटिलताबाहेकका सुत्केरी सेवा बर्थिङ सेन्टरबाट उपलब्ध हुँदै आएको अधिकृत नाथले बताए । सुत्केरीको अवस्था जटिल भए तत्कालै नगरपालिकाको एम्बुलेन्समै सम्बन्धित अस्पतालमा पठाउने कार्यसमेत हुँदै आएको छ ।
नगरपालिकामा सञ्चालित बर्थिङ सेन्टरबाट आव ०७७/७८ मा ५ सय १४ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएका छन् जसमध्ये दलित ९७, जनजाति १ सय ९, ब्राह्मण क्षेत्री ३ सय ४ र अन्य चारजना रहेका छन् ।
कूल सुत्केरी हुनेमध्ये दलितको संख्या १९ प्रतिशत र जनजातिका संख्या २१ दशमलव २० प्रतिशत छ । आव ०७६/७७ मा ४ सय ३९ ले बर्थिङ सेन्टरबाट सुरक्षित सुत्केरी सेवा लिएका थिए तीमध्ये १९ दशमलव ३६ दलित, ३० दशमलव २९ जनजाति, ४९ दशमलव ४९ ब्राह्मण र एक प्रतिशत अन्यले सुरक्षित सुत्केरी सेवा लिएका छन् ।
निर्धारित समयमा चारपटक गर्भजाँच गराएमा प्रोत्साहनस्वरुप आठ सय रुपैयाँ तथा स्वास्थ्य संस्थाले सञ्चालन गरेको बार्थिङ सेन्टरमा सुत्केरी गराएमा एक हजार रुपैयाँ यातायात खर्चसमेत उपलव्ध गराउने व्यवस्था रहेको छ ।
“सुत्केरी भत्ताका कारणले पनि गर्भवती नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा आउने गरेका छन्,” स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “जसका कारणले मातृशिशु मृत्यु दरसमेत शून्य छ ।”
उनका अनुसार बर्थिङ सेन्टरबाटै सुत्केरी भएका महिलाका शिशुका लागि न्यानो झोला कार्यक्रमअन्तर्गत न्यानो लुगा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
चालु आवदेखि सुत्केरी हुनेका लागि पोषणयुक्त आहार लगायतको व्यवस्था नगरपालिकाले गरेको छ ।




Comments are closed.