पोखरा । हवाई सेवा लगायत प्राय सबै सेवा सुचारु हुँदा पनि लामो दुरीका सार्वजनिक बस सञ्चालनमा रोक लगाइएको प्रति यातायात व्यवसायीहरु आक्रोशित बनेका छन् । यसैक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले असार ३० गतेबाट लामो दुरीका बस सेवा सञ्चालनमा ल्याउने बताएको छ ।
यातायात व्यवसायीलाई राज्यले दोस्रो दर्जाको नागरिकलाई जस्तो व्यवहार गरेको प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । अब व्यवसायीले स्वतस्फूर्त बस सेवा सञ्चालनमा ल्याउने बताए । ‘कम्पनीले असार ३० बाट लामो दुरिमा बस सेवा सञ्चालन गर्नेछ,’ उनले भने, ‘गिरफतार गरे सबै व्यवसायी गिरफ्तारी दिन तयार छौं ।’
यसै विषयमा जानकारी दिन प्रा.लि.ले असार २८ गते सोमबार कम्पनीको प्रधान कार्यालय पोखरामा पत्रकार सम्मेलन गर्दैछ । असार २८ गते नै कास्की जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश गर्ने र असार ३० गतेबाट सबै टिकट बुकिङ काउन्टर खुल्ला गरी बस सेवा सञ्चालन गर्ने अध्यक्ष केसीले आर्थिक आवाजलाई जानकारी दिए । सरकारद्वारा जारी स्वास्थ्य मापदन्डको पूर्ण पालना गरी सेवा सुचारु गरिने केसीले बताए ।

‘सार्बजनिक सवारी साधनप्रति सरकारले लिएको धारणा गलत छ,’ केसीले भने । कालो प्लेटको सवारी साधन चलाउदा कोराना सर्छ भन्ने मान्यता स्थापित गर्न खोजिएको बताउँदै उनले जहाज र निजी गाडीमा कोरोना नसर्ने र सार्वजनिक गाडीमा सर्ने हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
‘लगभग सबै क्षेत्र चलायमान हुँदा पनि लामो दुरिका सवारीलाई लकडाउनका नाममा बन्देज लगाउने कार्य जायज छैन,’ केसीले भने ।




Comments are closed.