दुलेगौडा कोत्रेखण्डका बासिन्दा भन्छन् : धुलोले आजित भयौँ, कति सहने ?

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका ठाकुर खनाल घर अगाडि उडेको धुलोले आजित छन् । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडकमा दिनदिनै उड्ने धुलोको असर उनले शब्दमा बयान गर्न सक्दैनन् ।

“दुई वर्ष भयो धुलो खाँदै बस्नुपरेको, धुलोले कति आजित र हैरान भयौ भन्ने कुरा भनिसाध्य छैन”, उनले भने, “धुलोका कारण कति पटक त बिरामी पनि परियो ।” विगत दुई वर्षदेखि सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटनामा धेरैले ज्यानसमेत गुमाएको उनले उल्लेख गरे । घाम लाग्दा धुलो, पानी पर्दा हिलोको समस्यामा यहाँका सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएको खनालले बताए ।

“यो समस्या समाधानका लागि धेरैपटक सम्बन्धित निकाय गुहा¥यौँ, तर कहीँबाट पनि समाधान भएन”, उनले भने, “हैरान भइसक्यौँ ।” शुक्लागण्डकी नगरपालिका–२ हलेदीका शङ्कर पन्तले दुई वर्षदेखि धुलाम्य बाटोले यस ठाउँका स्थानीयवासीले हैरानी बेहोरेको बताए । “यसको समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गरायौँ, विगतमा सडक डिभिजन प्रमुखलाई कार्यालयमा पनि थुन्यौँ, तर काम भएन”, उनले भने, “विगत सडक टालटुल भयो, समस्या जहाँको तहीँ रह्यो ।”

footwear zone

सडक मर्मत गर्ने आश्वासन धेरै पाए पनि काम नभएको उनले गुनासो गरे । “यो बाटो बनाइदिने कसले हो ? हामी त दिक्दार भयौँ, मन्त्री, मुख्यमन्त्री पनि दिनदिनै यही बाटोबाट आवतजावत गर्छन्, तर सुनुवाइ कहिल्यै भएन”, उनले भने, “धुलोले गर्दा बाँच्न नसक्ने अवस्था भइसक्यो ।” उनले नागरिकलाई बचाउने सरकारको दायित्व भएकाले गम्भीर भएर स्थानीयवासीको जीवन बचाइदिन आग्रह गरे ।

शुक्लागण्डकी नागरिक समाजका संयोजक खेमराज खनालले पटक पटक सम्बन्धित निकायमा डेलिगेशन गए पनि सडकको समस्या समाधान नभएको बताए । “सडक ग्रेडिङ गरेर नियमित पानी हालिदिए धुलो मथ्र्यो, केही सहज हुन्थ्यो, त्यति काम पनि भएन”, उनले भने ।

धुलोले आजित भएपछि यहाँका स्थानीयवासीले विगत तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले सडक अवरुद्ध गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । माग पूरा नभएसम्म सडक बन्द निरन्तर रहने सङ्घर्ष समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मुग्लिङ पोखरा सडक विस्तारका लागि यो खण्ड हस्तान्तरण भइसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको बताए । यो सडखण्डको समस्या समाधानका लागि आफूले पनि विगतदेखि पहल गर्दै आइरहेको भन्दै प्रजिअ अर्यालले भने, “सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेको छु, मुख्यमन्त्रीलाई पनि यसबारेमा जानकारी गराएको छु, प्रक्रियागत रुपमा काम गर्दा ढिलाइ भएको हो ।”

गत चैत ६ गते सडक आयोजनालाई पत्र लेखी यस विषयमा ध्यानाकर्षण गराएको भन्दै प्रजिअ अर्यालले तत्कालका लागि सडक ग्राभेल गरी नियमित पानी हालेर धुलो मार्ने व्यवस्था मिलाउने बताए। “सडक आयोजनाका परामर्शदार्ता र निर्माण कम्पनीका व्यवसायीलाई पनि बोलाएर समस्या समाधानका लागि निर्देशन दिएको छु”, प्रजिअ अर्यालले भने ।

मुग्लिङ पोखरा सडक आयोजनाअन्तर्गत पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले सडकको ठेक्का लागे पनि केही प्रक्रिया बाँकी रहेकाले समस्या भएको बताए । आयोजना सुरु गर्नुपूर्व बीमा गर्नुपर्ने प्रावधान रहेकाले ठेकेदारले आठदिनभित्र बीमाको काम सक्ने प्रतिबद्धता जनाएको उनले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त खण्डमा सुधारको काम सुरु नभएको र नियमित पानी हाल्ने काम नभएकाले समस्या समाधानका लागि मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) लाई पत्र लेखेको छ । प्रशासनले पिच बिग्री धुलो उड्ने ठाउँमा नियमित पानी छर्न र धुलो उड्न नदिन, खाल्डाखुल्डी परेका सडकखण्डमा मर्मत गरी धुलो नउड्ने बनाउन, गाछेपानी कोत्रे सडखण्डमा ग्रेडर रोलिङ गर्ने र नियमित पानी छर्ने व्यवस्था मिलाउन, सडक सुधारको कार्यको थालनी गर्दा कोत्रे गाछेपानी खण्डबाट सुरु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

 

You might also like

Comments are closed.