मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने तयारीमा लामिछाने

नारायण अधिकारी/चितवन । मोफसलमा उपचार पाउन नसकेर काठमाडौं धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिए । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेरै छोडे।

लमजुङको राइनास नगरपालिका–८ माझीगाउँमा जन्मिएका डा लामिछानेले काठमाडौंको बीएण्डबी अस्पतालमा उपत्यका बाहिरबाट आउने ठूलो सङ्ख्याका बिरामीको पीडा सुनेपछि भरतपुरमा अस्पताल खोल्ने निधो गरे । भरतपुरकै कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेर काठमाडौं विश्वविद्यालयबाट अर्थोपेडिकमा एमडी गरेसँगै उनले बीएण्डबीमा काम थाले ।

कामको दौरानमा मकवानपुरदेखि बुटवलसम्मका दुर्घटनाका धेरै घाइते उपचारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता देखेपछि उनले यही ठाउँलाई बीचमा पारेर अस्पताल खोलेको बताए । बीएण्डबीमा आठ महिना काम गरेपछि उनि चितवन झरे ।

footwear zone

मध्यम वर्गीय परिवारमा हुर्किएका लामिछानेसँग अठोट र साहस त थियो तर पैसा थिएन । विसं २०६७ कात्तिक १७ गते अस्पताल त दर्ता गरे तर उनिसँग आर्थिक व्यवस्थापन हुन सकेन । विगतलाई सम्झँदै उनले भने, “परिवारले मात्रै होइन, बैंकले पनि मलाई पत्याएनन् ।” चितवनका सबै बैंकमा परियोजना ऋण प्रस्ताव पेश गरे पनि कसैले ऋण नपात्याएपछि बैनी प्रतिभा ढकालको घर धितोमा राखेर उनले ऋण लिए ।

छोराको तीव्र चाहानाका कारण शिक्षक पेसामा रहेका बुबा कृष्णप्रसाद लामिछानेले दिएको बीउ पूँजीमा बैंकको ऋण थप गरेर अस्पताल सुरु गरे । त्यसो त उनलाई अस्पताल उपकरण खरिद गर्न सप्लायर्सले उधारो पत्याए । यसरी सुरु भएको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उनले रातदिन मिहिनेत गरे ।

पछिल्ला पाँच वर्ष पारिवारिक समस्याका कारण चाहे जति समय दिन नभ्याए पनि अस्पताललाई कहिल्यै पछाडि धकेलिन दिएनन् । यो अवधिमा आफ्नो नेतृत्वमा २० हजार शल्यक्रिया गरेको उनको भनाइ छ । त्यसो त उनि एक्लैले १५ हजार शल्यक्रिया गरिसकेका छन् । “२४ घण्टामा मैले १४ वटा शल्यक्रिया र ४० जनाको बहिरङ्ग परीक्षण गरेको छु”, उनले भने । मिहिनेतकै कारण अस्पताल भाडामा रहेको भवनसमेत खरिद गर्न सफल भएको छ । लामिछानेको पाँच कठ्ठा जमिनमा अस्पताल भवन छ । जहाँ ५० शय्याको ट्रमा अस्पताल सञ्चालनमा छ । अस्पतालमा तीन अर्थोपेडिक सर्जन, चार मेडिकल अधिकृतसहित ६५ जना जनशक्ति कार्यरत छन् ।

जिल्लामा अत्याधुनिक उपकरण प्रयोग गरेर शल्यक्रिया र उपचार गर्र्दै आएको उनको भनाइ छ । विसं २०३८ माघ १४ गते जन्मिएका लामिछाने आफ्नो चार दशकको उमेरमा जे गरे आउँदा दिनमा थप सेवा दिने गरी अस्पतालको सञ्चालन गर्ने तयारीमा छन् । अस्पताल दर्ता गरेकै वर्ष विवाह गरेको भए पनि श्रीमती डा बिएम खरेलको दुई वर्ष अघि निधन भएपछि पारिवारिक समस्यामा रहेका उनि अबका दिनमा थप ऊर्जाका साथ काममा जुट्ने तयारीमा छन् । उनले भने, “ट्रमा क्षेत्रमा मोफसलको उत्कृष्ट अस्पताल बनाउने तयारीमा छु ।” सबै बिरामी काठमाडौं पुग्दा धेरैले दुःख पाएको र कतिपयको बाटोमै निधन हुने गरेको भन्दै उनले समयमै उपचार गर्न सक्दा धेरैको ज्यान बचाउन सकिने बताउछन् ।

पूर्व–पश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडक र भित्री सडकमा हुने दुर्घटनाका घाइते उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । यसरी आएका घाइते ७५ प्रतिशत हाराहारी बीमाका हुने गर्दछन् । सकेसम्म कम खर्चमा उपचार गराउने गरी आफूले उपचार गर्दै आएको उनि बताँउछन् । घाँटीभन्दा तल छातीबाहेकका सम्पूर्ण अर्थोपेडिक शल्यक्रिया आफूहरुले गर्दै आएको उनले जानकारी दिए । युवा र आर्थिक अवस्था मध्यम हुँदै गर्दा पनि बिरामी ठीक पार्न सक्छु भन्ने अठोटका कारण अस्पताललाई सफलता मिलेको उनि बताँउछन् । धेरै चिकित्सक राजधानी केन्द्रित हुँदै गर्दा आफ्नो सीप मोफसलमा लगाउन सकेमा धेरैको विश्वास जित्न सकिन्छ भन्ने उदाहरण डा लामिछानेले प्रस्तुत गरेका छन् ।

You might also like

Comments are closed.