सुरेन्द्र पौडेल , काठमाडौं । ताप्लेजुङमा २ वटा र दोलखामा एउटा नयाँ जलविद्युत परियोजना अगाडि बढ्ने भएका छन् । व्यवसायी पुष्पज्योती ढुंगानाको नेतृत्वमा ३ वटा नयाँ जलविद्युत परियोजना अगाडि बढ्न लागेका हुन् ।
ताप्लेजुङमा ३७.५ मेगावाट क्षमताको तमोर फाइभ जलविद्युत परियोजना र २१ मेगावाट क्षमताको पालुङखोला जलविद्युत परियोजना निर्माण हुन लागेका हुन् । दोलखामा ५२ मेगावाट क्षमताको अपर ल्याप्चेखोला जलविद्युत परियोजनाको काम अगाडि बढ्न लागेको छ । तीन वटै परियोजनाका पिपिए भइसकेको ढुंगानाले जानकारी दिए ।
तमोर फाइभमा ६ अर्ब ५ करोड रुपैयाँ, पालुङखोलामा ३ अर्ब ८० करोड रुपैयाँ र अपर ल्याप्चेमा ९ अर्ब ४० करोड रुपैयाँ लगानी हुनेछ । परियोजनाको काम अगाडि बढाउनका लागि फाइनान्सियल म्यानेजमेन्टको काम भइसकेको ढुंगानाले जानकारी दिए । तमोर फाइभ र पालुङखोलाका लागि सानिमा बैंकको नेतृत्वमा अन्य बैंक तथा संस्थाले लगानी गर्नेछन् भने अपर ल्याप्चेमा प्राइम कर्मसियल बैंकको नेतृत्वमा लगानीहुने बताइएको छ ।

‘तीनवटै परियोजनाको निर्माण कार्य छिट्टै सुरु हुन्छ । अबको ३ वर्षभित्रमा तीनै परियोजनाको निर्माण सम्पन्न गरी अपरेसनमा आइसक्नेछन्,’ ढुंगानाले भने, ‘एक्सेस रोडहरु बनाउने काम भइरहेको छ ।’
ढुंगानाको नेतृत्वमा यस अगाडि १५ मेगावाट क्षमताको पाँचथर पावर कम्पनी अपरेसनमा आइसकेको छ । ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपरमादी जलविद्युत परियोजनाको सिभिलतर्फ ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । पर्वतमा रहेको १ मेगावाट क्षमताको पानीखोला जलविद्युत परियोजना पनि अपरेसनमा छ ।

अबको ५ वर्षभित्रमा ३ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित जलविद्युत क्षेत्रमा लगानी बढाइरहेको ढुंगानाले जानकारी दिए । ‘अन्य प्रोजेक्टहरु पनि पाइपलाइनमा छन् । क्रमशः काम अगाडि बढाउनेछौं ।’ मुलुकको समृद्धिका लागि जलविद्युत उत्पादन अनिवार्य रहेको उनले बताए । ‘विद्युतमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक छ,’ उनले भने । जलविद्युत क्षेत्रको लगानीले जिडिपी बढाउन योगदान पुर्याउनुका साथै छरिएर रहेको पुँजीलाई एकीकृत गर्ने काम गरिरहेको बताउँछन् उनी । ‘देशभित्रै विद्युत खपत बढाउँदै बढी भएको विद्युत निर्यात गर्न सकियो भने जलविद्युत क्षेत्रबाट मुलुकको समृद्धिमा टेवा पुग्छ,’ उनले भने, ‘खपत बढाउन विद्युत महसुल घटाएर सस्तो बनाउनुपर्छ ।’







Comments are closed.