बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत

डोटी । बाढीपहिरामा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ ।

कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरामा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत प्रदान गरिएको हो । यसैगरी एकै परिवारका थप मृतक सङ्ख्याका आधारमा थप एक लाख रुपैयाँका दरले राहत प्रदान गरिएको प्रजिअ विष्टले जानकारी दिए । जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन् ।

footwear zone

सबैभन्दा बढी मानवीय क्षति जिल्लाको जोरायल गाउँपालिकामा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोरायल गाउँपालिकामा मात्रै बाढीपहिरामा परी सात जनाको मृत्यु भएको थियो । यसैगरी बाढीपहिराबाट धनजनको क्षति भएका अन्य पीडितका लागि सरकारबाट उपलब्ध हुने रकम आएपछि यथाशीघ्र वितरण गरिने प्रजिअ विष्टले बताए । उनले भने, “अहिले मृतकका लागि आएको राहत रकम वितरण गरेका छौँ, अब अन्य क्षतिको रकम आए तत्कालै वितरण गर्ने छौँ ।”

यहाँका बाढीपहिरापीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले त्रिपाल, लुगाकपडा, भाँडाकुडालगायतका सामग्री वितरण गरेको सभापति लछीराम कुँवरले जानकारी दिए । यसैगरी जिल्लाको जोरायल गाउँपालिकाले बाढीपहिराले ज्यान गुमाएका परिवारलाई किरिया खर्चस्वरुप २५ हजार उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । बाढीपहिराले घर जमिन बगाएपछि यहाँका अधिकाश पीडितको पालमुनी बास भएको छ ।

You might also like

Comments are closed.