विपन्न परिवारले पाए जस्तापाताको छानो

युवराज विष्ट, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्ष्य गरेर १ सय ८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो ।

वडाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको जनाएको छ । वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरुपता ल्याउनका लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए ।

सुरुमा वडा कार्यालयले आफैँ बजेट विनियोजन गरेर कार्यक्रम थालेको भए पनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उनको भनाइ छ । उनले भने, “मैले जनतालाई निर्वाचनका बेला दिएको बचनअनुसार अभियान थालेको थिएँ । वडा कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेर ४३ घरलाई जस्तापाताको छानो दिएका छौँ । पुनः सहरी विकास कार्यालयबाट थप ६५ गरी यहाँका १ सय ८ घर गरिब तथा विपन्न परिवारको फुसको छानो हटाउन सफल भएका छौँ ।”

footwear zone

आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि आभियान सञ्चालनमा ल्याइएको उनले बताए । वडाध्यक्ष नेपालले भने, “वडाले स्थानीयवासीको समस्यालाई सुक्ष्मरूपमा अध्ययन गरेर कार्यक्रम सञ्चालन गरेको छ, हुन त हामीसँग धेरै ठूला–ठूला योजना तथा कार्यक्रम सञ्चालन गर्ने बजेट छैन, तर पनि स्थानीयवासीको स–साना समस्यालाई बुझेर काम गर्न सकियो भने जनतालाई खुशी बनाउन सकिँदोरहेछ ।”

वडाले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्धरूपमा काम गरिरहेको छ । “वडाको सक्रियतामा वडाको सबै ठाउँमा विद्युत् विस्तार भएको छ भने कृषिमा लाग्नेहरुका लागि आर्थिक सहयोग गरिरहेका छौँ, धेरै कृषकलाई अनुदानको व्यवस्था गरेको छौँ । सबै टोलमा कृषि सडक खनेका छौँ । पानीको समस्या समाधान गरिएको छ भने सिँचाइको समस्या समाधानका लागि सिँचाइ आयोजना निर्माणको तयारीको अन्तिम चरणमा छौँ”, उनले भने ।

गरिब तथा विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न विपन्न लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन भइरहेको जनाइएको छ । आफ्नो क्षेत्रलाई नमूनासँगै व्यवस्थित बनाउन योजनाबद्धरूपमा अभियान सञ्चालन गरेको वडाको भनाइ छ । उसले अभियानका रूपमा फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीयवासी नागरिक हर्षित भएका छन् । स्थानीयवासी कृष्ण गिरीले भने, “वडा कार्यालयले सञ्चालन गरेका धेरै कार्यक्रम प्रभावकारी छन् । वडाको सक्रियतामा वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्ष्य गरेर जस्तापाताको छानो लगाइदिएको छ । यो निकै राम्रो काम हो । यसले वडावासीको मुहारमा उत्साह थपेको छ ।”

वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकामा सन्तुष्ट रहेको अर्की स्थानीयवासी चिनीमाया भारतीले बताइन् । उनले भनिन्, “थोरै बजेटमा भए पनि वडास्तरमा सञ्चालन भएका काम प्रभावकारी छन् । हाम्रा वर्षौँदेखिका धेरै समस्या थिए । ती काम अधिकांश पूरा भएका छन् । वडा कार्यालयले जनताको समस्या तथा आवश्यकताका आधारमा योजना सञ्चालन गरेको छ । हाम्रो सबै टोलमा कृषि सडक विस्तार भएको छ । कृषि उपजलाई सहजरूपमा बजारसम्म बिक्रीका लागि लैजान सकेका छौँ । यो भन्दा ठूलो आशा के गर्नु र हामी सन्तुष्ट छौँ ।”

You might also like

Comments are closed.