कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

मकवानपुर । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ ।

मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई पचास हजार रुपैयाँ र भेन्टिलेटरमा उपचार गरेकालाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना संक्रमणबाट उक्त नगरका १८ को मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए । मृतक र कोरोनाबाट पीडितको परिवारमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए ।

वाइवाका अनुसार नगरले कोरोनाको दोस्रो तथा तेस्रो लहरमा संक्रमितलाई उपचारार्थ अस्पताल आउजाउका लागि तीन एम्बुलेन्ससमेत निःशुल्क रूपमा व्यवस्थापन गरेको थियो । मण्डनदेउपुरमा हाल कोरोनाका १३ महिलासहित २२ सक्रिय संक्रमित रहेका छन् । तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा मृत्यु भएका दुई पुरुषमध्ये एक मण्डनदेउपुरका थिए ।

footwear zone

यस्तै, पनौती नगरले पनि कोरोना संक्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ । नगरमा कोभिड–१९ को संक्रमणबाट १९ को मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हाल नगरका ७९ महिलासहित १ सय ८१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पनौतीका सबै संक्रमित होम क्वारेन्टिनमै रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ । यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म १७ हजार २ सय ५८ मा संक्रमण देखिएकोमा १ सय ९५ को मृत्यु भएको छ । हालसम्मका कूल संक्रमितमध्ये ९३ दशमलब २७ प्रतिशत अर्थात् १६ हजार ९७ संक्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३४ संक्रमणमुक्त भएका हुन् ।

केन्द्रका अनुसार जिल्लामा हाल ९ सय ६६ सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नपामा २ सय ९९, धुलिखेलमा २ सय ८६, पाँचखालमा ७४, नमोबुद्धमा ३३ तथा रोशी गाउँपालिकामा १३, तेमालमा चार, भुम्लु १३, बेथानचोकमा १६, खानीखोलामा एक, महाभारतमा सात र चौंरीदेउराली गाउँपालिकामा १७ रहेको छन् ।

You might also like

Comments are closed.