काठमाडौं । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको छ ।
यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट पूर्याइएको छ ।प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ ।
राहुघाट जलविद्युत्मा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए । मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उनको भनाइ छ ।

आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । वडा नं ३ पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह रहने क्षेत्रमा पूर्वाधार निर्माणमा दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।
भारतीय आयात-निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ ।
अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबीस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो ।




Comments are closed.