सरकारी शिक्षक आलु खेतीमा रमाउँदै

भूपेन्द्रसिंह विष्ट/डडेल्धुरा । अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुन् । उनले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उनी सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउँछन् । उनी शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ । शिक्षक ऐरको दैनिकी फरक छ । उनी बिहान ६ देखि ९ बजे र साँझ ५ देखि करीब ८ बजेसम्म मातृभूमिको माटामा रमाइरहेको भेटिन्छन् । उन ितीन महिना आलु खेतीसँग रमाउँछन्, तीन महिना काउली खेतीसँग मनोरञ्जन लिन्छन् । उनी बाँकी समय घर वरपरका बोटबिरुवा, गाईभैँसी, माछाको हेरचाहमा बिताउँछन् ।

२० वर्षदेखि आलु खेती
प्रकाश सरले आलु खेती शुरु गरेको २० वर्ष भयो । तेह्र रोपनी जमीनमा उनले आलु खेती गरिरहेका छन् । विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा धेरै अगाडि पुगेको देखिन्छ । आलुको ‘सुपरजोन’ नै घोषणा भएको छ । यस क्षेत्रका अधिकांशका खेतबारी अहिले आलुको हरिया पातहरुले हरियालीपूर्ण छ । “यहाँ शुरुशुरुमा मकै मात्रै लगाउँथ्यौंँ । हामी मकैमा मात्रै सीमित थियौँ”, उनले भने, “पछि विस्तारै बुझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन् । ”धेरै स्थानमा सिँचाइको सुविधा नभएको जनाई धेरैले काम गर्ने छाडेका उदाहरण छन् । इच्छा शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा सिँचाइको व्यवस्थापन गर्ने गरेका छन् ।
शुरुमा आलु खेती गर्दा केही समस्या आफूले भोग्नु परेको उनले सुनाए । “मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु । शुरुमा गाईवस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो”, उनले भने, “अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरु पनि उपलब्ध भएको छ । त्यसले जोत्ने काममा सहजता ल्याएको छ ।”

म्याडमको साथ
उनको छ जनाको परिवार छ । उनलाई आलु खेतीमा घरपरिवारका अन्य सदस्यले पनि साथ दिइरहेका छन् । “तीन घण्टा बिहान र तीन घण्टा साँझ गरेर हामी बारीमा काम गर्छौंँ”, उनले भने, “आलु खेती गर्दा मलाई म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौंँ ।” “बिहान बेलुका व्यायाम पनि हुन्छ । काम पनि हुन्छ । मलाई एकदमै रमाइलो लागेको छ”, उनले थपे ।

footwear zone

एक याममा रु छ लाख कमाइ
उनी अहिले एक याममा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्छन् । आलु राम्रो उत्पादन भएका समयमा एक याममा रु छ लाख र कम उत्पादन भएका याममा रु तीन लाख आम्दानी हुन्छ । बिक्रीवितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ । उत्पादित बीउ आलु भने उनी नजीकैको उग्रतारा शितभण्डारणगृहमा राख्छन् । आलु रोप्ने समयमा तराईका जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, बझाङ र डोटीका विभिन्न स्थानीय तहले सजिलै उनकै घरबाट बीउ आलु खरीद गरेर लैजान्छन् । प्रकाश सरले तमाम विद्यार्थीलाई औपचारिक शिक्षा दिइरहँदा आलु खेती गर्न चाहने किसानलाई आलु बीउ उत्पादन र बिक्री गरेर उदाहरणीय काम गरिरहेका स्थानीयवासी बताउँछन् । उनको यस कार्यमा थप बल तथा प्रोत्साहनस्वरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको कार्यान्वयन एकाइ आलु सुपरजोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ । सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए । अहिले खायन आलु (खानका लागि लगाइएको आलु) मात्र हैन, बीउ पनि उत्पादन भइरहेको छ । खायन आलुको मूल्य प्रतिकिलो रु २५ देखि ३० तथा बीउ आलुको मूल्य प्रतिकिलो रु ७० देखि ८० हो । “आलु मेरो जीवन नै हो, व्यावसायिक आलु खेतीमा मुनाफा त छँदै छ, आनन्द पनि उत्तिकै छ । घरपरिवारका सदस्यले सघाउँछन् । काम सकिन भने केही समयका लागि भए पनि ज्यालामा श्रमिक पनि राख्छु ”, उनले सुनाए ।

विदेशिने युवालाई सुझाव
युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा आम्दानी गर्न सकिने उनको सुझाव छ । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने बताउँदै उनले भने, “युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नुपर्छ । विदेश जानु हुँदैन । यहीँ लाखौँ कमाउन सकिन्छ ।”नेपालकै भूमिमा पसिना बगाउन उनले सुझाव दिए । ‘‘विदेशी भूमिमा घण्टौंँ पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा आफ्नै भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ’’, उनले भने ।

You might also like

Comments are closed.