मुगु । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष मोहनबाबु खड्काले नेपालको सबैभन्दा ठूलो ताल राराबाट राज्यले लाभ लिनुपर्ने बताएका छन् । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताललाई राज्यले प्रवद्र्धन र प्रचारप्रसार गर्न सके संसारभरका पर्यटकको आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ ।
वाडाले रारा प्रवद्र्धनको लक्ष्यसहित आयोजना गरेको अवलोकन भ्रमणका क्रममा रारामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले राराको दीगो संरक्षण गर्दै सुन्दरता बचाउनुपर्नेमा जोड दिए । ‘राराको संरक्षणतर्फ आजैबाट सोच्नुपर्छ,’ उनले भने, ‘पर्यटकको संख्या बढाउनका लागि पूर्वाधार विकासमा राज्य लाग्नुपर्छ ।’ राराको संरक्षण, प्रवद्र्धन तथा पूर्वाधार विकासमा राज्यसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको उनले बताए ।
कर्णाली प्रदेशको समग्र विकासमा समेत राराले योगदान गर्नसक्ने बताउँदै अध्यक्ष खड्काले स्थानीय जनताको जीवनस्तरसमेत उकास्नुपर्नेमा जोड दिए । वाडाको भ्रमण कार्यक्रमका संयोजक शिव श्रेष्ठले राराको संरक्षणमा सरकारसँगै स्थानीय पर्यटन व्यवसायीले पनि चासो दिनुपर्ने बताए ।

कोरोना महामारीका कारण सुनसान रहेको रारा क्षेत्रमा पछिल्लो समय पर्यटकको चहलपहल देखिन सुरु भएको छ । दसैं तिहारमा रारा पुग्ने पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायी देवीकृष्ण रोकायले जानकारी दिए ।




Comments are closed.