काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५्र लाख रुपैंयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ । सम्झौताअनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पुनर्बीमा कम्पनीका बरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक विक्रममान श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।




Comments are closed.