काठमाडौं । दसैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गर्ने भएको छ । विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने उद्देश्यसहित यो सेवा सुरु गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ । देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
महामारीबाट जोगिन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकले जनाएको छ ।

बैंकको ७७ जिल्लामा २ सय ४१ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ इकाइ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।




Comments are closed.