काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । अवैधरुपमा मालसमान भित्रिनेक्रम बढेपछि भन्सारले केही महिनादेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।
अघिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा वार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्दा पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्यसमेत कमी देखिएको छ ।
भन्सार राजस्व असुलीमा गत वर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको नेपालगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनसम्ममा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ ।

नेपालगञ्ज भन्सारले गत असारमा लक्ष्यको ७८.१० प्रतिशत, जेठमा लक्ष्यको ७७.५४ प्रतिशत, वैशाखामा ७६.७६ प्रतिशत, चैतमा ७९.१६, फागुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो ।गत आर्थिक वर्षमा मासिक लक्ष्य साउन र असोजमा मात्रै हासिल भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार राजस्व असुलीमा निरन्तर असफलता रहे पनि चालु आर्थिक वर्ष २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ माभन्दा चार अर्ब बढी लक्ष्य भन्सारले पाएको छ । चालु आव २०७९/८० मा रु २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निधारण गरेको हो । अघिल्लो आव २०७८/७९ मा नेपालगञ्ज भन्सारले रु २५ करोड २१ लाख ६ लाख ६२ हजार लक्ष्य पाएको थियो ।




Comments are closed.