लक्ष्यभन्दा कम राजश्व सङ्कलन

विराटनगर ।  एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको अवधिमा कूल ७ अर्ब ९३ करोड ३० लाख ४२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यस अवधिमा कार्यालयले १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । राजश्व सङ्कलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रु एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो भने चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा दुई अर्ब सात करोड ८७ लाख ६४ हजार रुपैयाँले कम हो ।

भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार सङ्कलित राजश्वमा भन्सार महसुल आयाततर्फ तीन अर्ब १७ करोड दुई लाख ९२ हजार रुपैयाँ, मूल्यअभिवृद्धि कर तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार रुपैयाँ, अन्तःशुल्क ४६ करोड ३७ लाख ८२ हजार रुपैयाँ, भन्सार महसुल निर्याततर्फ ३९ लाख ५३ हजार रुपैयाँ, कृषि सुधार शुल्क २७ करोड ६३ लाख रुपैयाँ, भन्सारको अन्य आय ९४ लाख ३६ हजार रुपैयाँ र पूर्वाधार कर १८ करोड १४ लाख ४० हजार रुपैयाँ छन् । कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ ।

You might also like

Comments are closed.