सुरेन्द्र पौडेल, काठमाडौं । आरएम ग्रुपले नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाएको छ । ग्रुपको नेतृत्वमा २ वटा आयोजना सम्पन्न भइसकेका छन् भने २ वटा आयोजनाको निर्माण कार्य भइरहेको छ । एउटा आयोजना पाइपलाइनमा छ ।
ग्रुपले विन्ध्यवासिनी कम्पनी अन्तर्गत रुदी खोला ‘ए’ र ‘बि’ ३ वर्ष अगाडि नै निर्माण सम्पन्न गरिसकेको छ । ८.८ र ६.६ मेगावाट गरी यो आयोजनाबाट १५.४ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
कम्पनीले पिपुल्स इनर्जी अन्तर्गत ‘खिम्ती टु’ आयोजना निर्माण गरिरहेको छ । ४८.८ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य ३० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको ग्रुपका निर्देशक कुशल सुन्दर श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए । रामेछाप र दोलखामा पर्ने खिम्ती खोलामा २०७८ बाट यो आयोजनाको निर्माण कार्य भइरहेको छ । ‘अबको २ वर्षमा यो आयोजना सक्ने लक्ष्य राखेका छौं,’ श्रेष्ठले भने ।

यो आयोजनामा ८ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । हाइ हिमाल हाइड्रोले सिभिलतर्फको निर्माण कार्य गरिरहेको छ । सानिमा बैंकको नेतृत्वमा ऋण लगानी भएको छ । रन अफ दि रिभर प्रविधि अन्तर्गत सञ्चालनमा आउने यो प्रोजेक्टका लागि २ किलोमिटर टनेल खन्ने काम भइसकेको छ । सिभिलतर्फको काम धमाधम भइरहेको छ भने हाइड्रोमेकानिकलको डिजाइनको काम भइसकेको र कन्ट्रयाक्टर चयन भएर अन्य काम सुरु भइसकेको श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी आरएम ग्रुप अन्तर्गत मल्टी इनर्जी डेभलपमेन्ट कम्पनी लि.ले लाङटाङ खोला जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ । रसुवाको लाङटाङ खोलामा निर्माणाधीन २० मेगावाट क्षमताको यो आयोजनाको पनि ३० प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको श्रेष्ठले जानकारी दिए । यो आयोजना सम्पन्न हुँदासम्म ४ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने अनुमान लगानीकर्ताको छ । सनराइज बैंकको नेतृत्वमा बैंकिङ लगानी जुटाइएको छ ।

त्यस्तै आरएम ग्रुपले १ सय ५५ मेगावाट क्षमताको जलविद्युत आयोजनामा लगानी गर्दैछ । आरएम इन्भेष्टमेन्ट अन्तर्गत घुन्सा खोला जलविद्युत आयोजनाको निर्माणका लागि डिपिआरको काम हुँदैछ । खिम्ती आयोजना सम्पन्न भएपछि घुन्साको काम अगाडि बढाउने लगानीकर्ताहरुको तयारी छ ।
आरएम ग्रुपमा जलविद्युत तथा व्यावसायिक क्षेत्रमा प्रतिष्ठित व्यवसायीहरुको आबद्धता छ । ग्रुपको अध्यक्ष कृष्ण आचार्य छन् । उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र भरतबहादुर पाण्डे छन् । डाइरेक्टरहरुमा सुदिप आचार्य, सन्दिप आचार्य र कुशलसुन्दर श्रेष्ठ छन् ।




Comments are closed.