सडक बनाउँदा भत्किन्छन् सिँचाइ र खानेपानीका योजना

बलेवा । जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पु¥याउन चालू आर्थिक वर्षमा चार लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन ।

सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पु¥याएको सिँचाइ कुलो भत्किन्छ । दुई सय वर्ष पुरानो यो कुलो केही वर्षअघि १५ लाख रुपैयाँ बढी खर्चेर पक्की बनाइएको थियो । चार लाख रुपैयाँ खर्चेर सडक बनाउँदा १५ लाख रुपैयाँमा बनेको संरचना भत्किने विषयमा कसैको चासो छैन ।

‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ” जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल भन्छन्– “एउटा संरचना बनाउँदा अर्को बनेको संरचना बिग्रिने घटना धेरै छन् ।” पौडेल चौरगाउँका स्थानीयवासीसमेत हुन् ।

footwear zone

यो समस्या जिल्लाका अधिकांश विकासे काममा देखिन्छ । सबैभन्दा बढी सडक बनाउँदा सिँचाइ र खानेपानीका संरचनामा क्षति हुने गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरको गिठेदेखि पात्लेखेत जाने सडक बनाउँदा बिग्रिएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका चार खानेपानी आयोजना डेढवर्ष हुँदासमेत पुनःनिर्माण हुनसकेका छैनन् । करोडौँ रुपैयाँ खर्चेर बनाइएका खानेपानीका योजना ७५ लाख रुपैयाँमा निर्माण भएको कच्ची सडकले तहसनहस बनाएको हो ।

जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि कालीगण्डकी करिडोर पुग्ने सडकको स्तरोन्नति गर्दा कुश्मीशेरा बजारको खानेपानीमा क्षति पुगेको छ । सैनिक टोल र नगरपालिकाको कार्यालयसमेत रहेको क्षेत्रमा विस्तार गरिएको पानी सडक बनाउँदा क्षति पुगेपछि खानेपानीको अभाव छ । “एउटा काम गर्दा अर्को काम बिगार्ने परिपाटी अन्त्य हुनुपर्छ, सडक बनाउँदा अरु बिग्रिने केही छ छैन भनेर हेर्नुपर्छ”, कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सैनिक टोलका पदमबहादुर श्रीषले भने, “बाटोले खानेपानीको योजना विगार्छ, दुःख हामीलाई हुन्छ ।”

कुश्मीशेरा बजारदेखि कान्लेहुँदै दमेक पुग्ने सडक प्रदेश सरकारले स्तरोन्नति गरेको हो । त्यहाँ पनि खानेपानीको योजना भत्किएपछि उपभोक्ता समितिका अध्यक्षनै खानेपानीको पाइप माग्न नगरपालिकामा पुगे । “योजनाबाटै मर्मत गर्न स्रोत छैन, स्टिमेटभन्दा बाहिर काम गर्न मिल्दैन”, उपभोक्ता समितिका अध्यक्ष छायाँदत्त चापागाईं भन्छन्,“पाइप मागेर मर्मत गर्न उपभोक्ता नै कस्सिए, नभए पानी खान पाईंदैन् ।”

पहिल्यै बनाइएका संरचना नयाँ बनाउँदा क्षति पुगे पछिल्लो योजनाबाट मर्मत गर्नुपर्छ । तर उपभोक्ता समितिमार्फत हुने अधिकांश काममा क्षति पुग्ने संरचनाको स्टिमेट नहुने र स्टिमेट अनुसारका काम मात्रै गर्दा मर्मतका लागि खर्चको अभाव हुने गरेको गुनासो मात्र सुन्न पाइन्छ ।

You might also like

Comments are closed.