बाँकेको खजुरामा पाँच वर्षको अवधिमा ४२ किमी पक्की सडक

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ ।

सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण लक्ष्य भेटाउन कठिनाइ भएको छ ।

footwear zone

“स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाको स्तरोन्नति थियो । यसलाई बुझेर गाउँपालिकाले हरेक वर्ष १६ किमी सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गर्‍यो”, उनले भने, “सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाका रुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेट्टाउन कोरोना महामारीले अवरोध सिर्जना गरे पनि गाउँपालिकाले पाँच वर्षमा ४२ किलोमिटर सडक पिच गरिसकेको छ भने अझै आठ किमी सडक निर्माण गर्ने योजना चलिरहेका छन् ।”

गाउँपालिकाका ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन् । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ । सबै वडामा सडक र नाली निर्माण भएका छन् ।

खजुरा बजार क्षेत्रमा सडक डिभिजनले चार लेन सडक निर्माण पनि धमाधम गरिरहेको छ । त्यसमा गाउँपालिकाले समन्वय गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

निर्वाचित जनप्रतिनिधि आइसकेपछि पूर्वाधारका क्षेत्रमा अत्यधिक काम भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका सडक विस्तार गर्न, स्तरोन्नति गर्न अन्य पालिकाभन्दा अब्बल रहेको गाउँपालिका योजना अधिकृत दिलबहादुर पौडेलको दाबी छ ।

गाउँपालिकाले बितेको पाँच वर्षमा सडक सँगसँगै पूर्वाधारतर्फ बहुउद्देश्यीय सभागृह, एक हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार, १५ शय्याको अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।

यी योजनाको काम ८० प्रतिशतभन्दा बढी भइसकेको उनले बताए ।

You might also like

Comments are closed.