पोखराका सडकमा खाल्डैखाल्डा, दुर्घटनाको जोखिम बढ्दो

पोखरा । बाबुराम घिमिरे राजधानी काठमाडौंबाट पृथ्वीराजमार्गको बाटो पोखरा हुँदै म्याग्दीतर्फ जाँदै थिए । पृथ्वीराजमार्गको बाटो अन्तर्गत तनहुँ खण्डमा बाटो बिस्तारका कारण पुरै भत्किएको छ । उनलाई कास्की पुगेपछि ड्राइभिङमा सहज हुने आशा थियो । कास्की खण्ड अन्तर्गतको सडकमा पनि ठाउँ ठाउँमा खाल्डै खाल्डा देखेपछि उनको स्पिडमा ब्रेक लागि रह्यो । बिजयपुरबाट महेन्द्रपुल निस्कन नजिक हुने अपेक्षासहित उनी बिपी मार्गतर्फ मोडिए । बाटो बिस्तार हुँदै गरेको पृथ्वी राजमार्गभन्दा बिपी मार्गको अवस्था नाजुक थियो, जुन उनले अपेक्षा गरेका थिएनन् । ‘पोखराको बाटो निकै राम्रो होला भन्ने अपेक्षा थियो । बिपी मार्गले मेरो अपेक्षा गलत साबित भयो,’ उनी भन्छन् ।

पोखरा पर्यटकीय शहर हो । अझ पोखराको लेकसाइड पर्यटकको केन्द्र नै हो । लेकसाइडबाट राष्ट्रबैंकचोक आउने क्रममा मालपोत कार्यालयतर्फको छोटो बाटो प्रयोग गरेका पर्यटक विकास खनाल पनि सडकको दुरदशा देखेर दुखित बने । मालपोत कार्यालय कटेर शहिद चोक आउने क्रममा सडकमा खाल्डैखाल्डा छन् । जहाँ प्रदेश सरकारका मन्त्रालयहरु पनि छन् । मन्त्रालयको गेट अगाडि पनि सडक खाल्डैखाल्डा छन् । पोखराको केन्द्र मुख्य बजार क्षेत्रकै सडकमा त खाल्डैखाल्डा छन् भने भित्रभित्रका सडकको अवस्था कस्तो छ सहजै अनुमान लगाउन सकिन्छ ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी गेटको करिब ५० मिटर तलबाट कदममार्ग प्रवेश गर्ने बाटो छ । जुन बाटोले बिपीमार्गलाई जोडेको छ । कदममार्ग प्रवेश गर्ने बाटोको सुरुमै सडकको बीचमा ठूलाठूला खाल्डा देख्न सकिन्छ । खाल्डा यति ठूला छन् कि तलको नाली पनि बाहिर नै निस्किएको छ । जहाँ दैनिक गाडीहरु फस्ने गरेको स्थानीयहरु गुनासो गर्छन् । त्यहाँबाट बिपी मार्गसम्म पुग्दा दर्जनौं खाल्डा छन् ।

footwear zone

साबिक लेखनाथ क्षेत्रका सडकहरुको अवस्था पनि दयनीय रहेको छन् । कतिपय सडकमा गाडी गुडाउनै नहुने अवस्था रहेको लेखनाथ विकास मञ्चका संयोजक एवं पत्रकार सन्दिप पौडेलले बताए । ‘बाटो बन्दै छ भनेर राजमार्ग टालटुल मात्रै पार्ने काम भएको छ । भित्र भित्रका सडक पनि पुरै भत्किएको छ,’ उनले भने ।

तालबेसीबाट रुपा गाउँपालिका जाने क्रममा गाउँपालिका पुग्नासाथ बाटो राम्रो छ । तर, महानगरपालिकाको बाटो घोडा हिड्ने जस्तो छ,’ उनी भन्छन् । बेगनासतालदेखि तालबेसीसम्म बाटो निर्माण गर्ने जिम्मा पाएको ठेकेर कम्पनी भाग्दा बाटो अलपत्र परेको छ । ‘सडक मर्मतसम्भार तथा विकास निर्माणमा चासो दिनुपर्ने स्थानीय सरकार भएको हामीले अनुभूति गर्नै पाएका छैनौं । प्रदेश र केन्द्र सरकारको अवस्था पनि उस्तै छ,’ उनले भने ।

सडकमा अत्याधिक खाल्डाखुल्डी हुँदा ट्याक्सी चालक लगायत अन्य सवारी चालक र यात्रुहरुलाई शास्ती भएको बताउँछन् पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल । सडक राम्रो नहुँदा दुर्घटनाको जोखिम बढ्ने र इन्धन खपत पनि बढी हुने उनको भनाइ छ ।

‘प्रायगरी दुई पाँग्रे सवारीले खाल्डा छल्ने क्रममा अर्को साइडमा जाने र दुर्घटना बढ्ने गरेको छ,’ उनले भने, ‘जसले गर्दा दुर्घटना बढ्नुका साथै सवारी साधनमा क्षति पनि बढेको छ ।’ चारपाँग्रे सवारी पनि खाल्डामा परेर उफ्रिने क्रममा अनियन्त्रित हुने गरेको उनले बताए । ‘रोडको लेभल नमिलेका कारणले पनि दुर्घटना हुने र मानवीय क्षति हुने क्रम बढ्दो छ,’ उनले भने ।

पृथ्वीराजमार्ग खण्डसँगै अन्तर्राष्ट्रिय संग्रहालयबाट बागमारा जाने बाटो र पामे जाने बाटोको अवस्था पनि नाजुक रहेको उनले बताए । ‘भित्रका सडकमा प्राय खाल्डैखाल्डा मात्रै छन् । धेरैको नगर परेका केही सडक मात्रै राम्रो देखिन्छ,’ उनले भने । राजमार्ग बनाउने बहानामा काम नभएकाले महानगरले अस्थायी रुपमा भएपनि राजमार्गको खाल्डाखुल्डी पुर्नुपर्ने अध्यक्ष पौडेल बताउँछन् ।

पोखराको भित्रभित्र यात्रा गर्दा सवारी चालकले सडकका खाल्डाखुल्डीलाई नजिकबाट महसुस गरिरहेका हुन्छन् । प्राडो चढेर हिड्ने जनप्रतिनिधिलाई सडकका खाल्डाले खासै असर नगर्ला । तर, साना कार र दुई पाँग्रे सवारीमा यात्रा गर्नेहरुलाई निकै सास्ती भएको स्थानीयहरुको गुनासो छ । सवारी दुर्घटनाको मुख्य कारण नै सडकको खाल्डाखुल्डी बनेकाले यसतर्फ सरोकारवालाको चासो जानुपर्छ ।

You might also like

Comments are closed.