‘तरलता अभाव देखिनुमा राज्य र बैंकहरु जिम्मेवार’

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वि. उप्रेतीले पछिल्लो समय तरलता अभाव देखिनुको कारण राज्य र बैंक तथा वित्तीय संस्थाहरु रहेको बताएका छन् । ‘सहकारीमा सुशासन र तरलता व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बिहीबार बोल्दै उनले ब्याजदर बढाएर कृत्रिम अभाव सिर्जना गरिएको बताए ।

जिल्ला सहकारी संघ लि. काठमाडौं महानगर उपसमितिको अयोजना र राष्ट्रिय सहकारी बैंक न्युरोड शाखाको सहआयोजनामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सहकारीको कारणले भन्दा पनि राज्य र निजी बैंक तथा वित्तीय संस्थाका कारण तरलताको समस्या देखिएको बताए । ‘ब्याजदर बढाएर कृत्रिम अभाव सिर्जना गरिएको छ,’ उनले भने ।

बढी ब्याजको लोभ देखाएर सहकारीको पैसा पनि निजी बैंकतर्फ गइरहेको उनले संकेत गरे । ‘सहकारीको रकम सहकारी बैंकमा नै जानुपर्छ भन्ने होइन,’ उनले भने, ‘तर सहकारीको रकम सहकारी क्षेत्रमा नै रहोस् भन्ने सोच्नुपर्छ ।’

footwear zone

राज्यको समग्र आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उनले बताए । सहकारी क्षेत्रमा सुशासन आवश्यक रहेको बताउँदै उनले पूर्ण रुपमा सुशासन आइनसकेको बताए । ‘हामी पूर्ण रुपमा व्यावसायिक र प्रविधिमैत्री भइसकेको छैनौं । अब हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे र राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लि. काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकार्य अभियानको योगदान महत्वपूर्ण रहेको बताए ।

६५औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख केदारनाथ उप्रेतीले जानकारी दिए । महानगर उपसमितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.