डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन् ।
विसं २०७७ मा एक करोड ७० लाख रूपैयाँमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान गरेको हो । निर्माण सेवाले भवन निर्माण सम्पन्न गरे पनि मजदुरलाई भने काम गरेवापतको रकम अहिलेसम्म दिएको छैन । भवनको काम सम्पन्न भई कार्यालय सञ्चालनमा आइसक्दा पनि ज्याला नपाएको स्थानीय जगत बिकले बताए । उनले भने, “भवन हस्तान्तरण भइसकेको छ, मजदुरको ज्याला बाँकी नै छ ।”
मजदुरले दैनिक ४ सयका दरले भवन निर्माणमा काम गरेका थिए । पूर्वीचौकी गाउँपालिका–२ कि हीरादेवी ओली मजदुरले निर्माण कम्पनीविरुद्ध आन्दोलनको तयारी गरेको बताउँछिन् । पिएस कन्सट्रक्शनका प्रोप्राइटर प्रेमशङ्कर भट्टले बाराही निर्माण सेवाले ज्याला दिनुपर्ने बताए । उनले भने, “सम्पूर्ण खर्च निर्माण सेवाले नै तिर्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ज्याला नपाएको कसैले पनि प्रशासनमा उजुरी नदिएको बताए । घर नजिकै रोजगारी पाएपछि खुशी भएका स्थानीयवासी ज्याला नपाएपछि पीडित बनेका छन् ।




Comments are closed.