सहारा बन्यो मनोजको सहारा

कृष्ण अधिकारी काठमाडौं । दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौधौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । आफ्नो पुख्र्यौली काम सैलुन सञ्चालन गरी मासिक रु ४० देखि ५० हजार आम्दानी गर्न उनि सक्षम भएका छन् । उनि भन्छन्, ‘‘दुई पैसा कमाइ होला कि भनेर घरपरिवार छाडेर विदेश गइयो । त्यहाँ ५० डिग्रीको तापक्रममा रहेर काम गर्दा पनि राम्रो कमाइ भएन । कुबेतमा १० वर्ष काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमै बसेर केही व्यवसाय गर्ने निधो गरेपछि गाउँ नै फर्कें ।’’

स्वदेश फर्केपछि उनले सैलुन सञ्चालन गर्न निर्णय गरे तर यसका लागि उनिसँग लगानी गर्ने पैसा थिएन । ‘जहाँ इच्छा त्यहाँँ उपाय’ भने झैँ उनको त्यो चाहनालाई सहारा बचत तथा ऋण सहकारी संस्थाले पूरा गरिदियो । उनले सो सहकारीसँग रु ५० हजार कर्जा लिई इलामको माई नगरपालिका–२ मा सैलुन सञ्चालन गर्न थाले ।

व्यवसाय त शुरु गरे तर नियमित विद्युत् नहुँदा उनलाई अर्को समस्या थपियो । विद्युत्को नियमित आपूर्ति नहुँदा उनलाई व्यवसाय गर्न निकै समस्या भयो । दैनिक तीन÷चार घण्टा पनि राम्रोसँग विद्युत् आपूर्ति नहुने र कहिलेकाहीँ त दुई÷तीन दिन नै विद्युत् नआउने हुँदा उनलाई कोठा भाडा नै कसरी तिर्ने होला भन्ने चिन्ताले सताउन थाल्यो । उनले सोही सहकारीबाट ऋण लिएर सोलार राख्ने निर्णय गरे ।

footwear zone

सहाराले उनको आग्रहअनुसार १६० वाट क्षमताको सोलार ब्याकअपका लागि रु ५५ हजार कर्जा दियो । सो रकमबाट तीन वटा एलइडी बत्ती, एउटा विद्युत्बाट चल्ने कपाल काट्ने मेशिन र पङ्खा राखे । अब उनको पसलमा कपाल काट्न आउनेको घुइँचो लाग्न थालेको छ । सोलार राखेपछि आम्दानीमा दोब्बर वृद्धि भएपछि खुशी हुँदै उनि भन्छन्,, ‘‘पहिले त व्यवसाय नै छाडौँ कि भन्ने अवस्थामा पनि पुगेको थिएँ । अहिले भने ढुक्कसँग काम गर्न सक्ने भएको छु । आम्दानीले ऋणको किस्ता तिर्न र घरखर्च चलाउन सजिलो भएको छ ।’’ सोलार जडान गरेपछि उहाँको सैलुनको प्रचार पनि निकै भएको छ । यसले गर्दा उहाँलाई काममा भ्याइ नभ्याइ हुने गरेको छ ।

आम्दानी राम्रो भएकाले श्रीमती र दुई बालबच्चासहित उनको परिवारको आर्थिक हैसियत पनि बढेको छ । उनले आफ्ना दुई बालबच्चालाई नजिकैको आवासीय विद्यालयमा पढाउन सक्षम हुनु भएको छ । अब उनि आफ्नै सैलुनलाई अझ साधन र सुविधा सम्पन्न गराउन खोज्दैछन् । यसका लागि उनले ग्राहकलाई जाडो र गर्मीका लागि पनि सुविधासहित सेवा दिन सहाराबाट थप कर्जा लिएर एयर कण्डिशन पनि राख्ने तयारी गर्दै छन् ।

उनि भन्छन्, ‘‘सहाराले मलाई ऊर्जामा दिएको कर्जाले व्यवसाय सञ्चालनमा निकै सहयोग पुगेको छ । राम्रो आम्दानी गर्न सकेकाले आज मलाई विदेशी भूमीबाट स्वदेशमै रहेर काम गर्ने अवसर मिलेको छ ।’’ अहिले उनि गाउँका अन्य युवालाई पनि विदेश जानुभन्दा स्वदेशमै केही व्यवसाय गर्न सुझाव दिने गर्नुहुन्छ । ‘‘मानिसहरु विदेशमा त रुखमै पैसा फल्छ जस्तो ठान्छन् तर त्यहाँ गर्ने दुःखको आधा मात्रै यहीँ ग¥यो भने पनि तेब्बर बढी कमाइ गर्न सकिन्छ’’, उनि भन्छन् । हिजो विदेशमा आफूले गरेको दुःखको क्षण अहिले उनि सम्झन पनि चाहदैनन् ।

जर्मनीको बिएमजीको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा जिआइजेडद्वारा सञ्चालित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा) ले एनएमबी बैंकसँगको सहकार्यमा घुम्ती कोष स्थापना गरिएको छ । सहकारीहरुलाई नवीकरणीय ऊर्जा तथा त्यसको परिप्रयोग बढाउने उद्देश्यले सहुलियतपूर्ण ऋण दिने व्यवस्था गरिएको छ । यसै कार्यक्रममार्फत एनएमबी बैँकले सहारा सहकारीमार्फत संस्थाका सदस्यहरुलाई नवीकरणीय ऊर्जा र ऊर्जासम्बन्धी व्यवसाय सञ्चालन गर्नका लागि साकोसलाई रु एक करोड रकम उपलब्ध गराएको थियो । सोही पूँजीमार्फत अहिले सहकारीले आफ्नो कार्यक्षेत्रभित्रका सदस्यलाई विभिन्न किसिमका ऊर्जा र उद्यमशीलता वृद्धि गर्न ऋण प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.