‘अर्थतन्त्र हल्ला गरिए जस्तो सङ्कटमा छैन, संवेदनशीलतालाई ख्याल गरेर कदम चालौं’

काठमाडौं । नेपाली कांग्रेसका सांसद् भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो संकटमा नरहेको जनाउँदै संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले अर्थतन्त्र संकटमा पर्‍यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनु पर्ने बताए ।

इन्धन आयातमा भएको वृद्धि, सवारीसाधन, सुनचाँदी, चामललगायतका सामग्रीको अत्यधिक पैठारीका कारण अर्थतन्त्र चापमा परेको तथ्य पेश गर्दै सांसद् शाहले भने, “हामी डेञ्जर जोनमा छौँ । तर समस्या नै परिहालेको भने अवस्था होइन ।” उनले राजश्व संकलन राम्रो रहेकाले करका दायरा विस्तारमा ध्यान दिनुपर्ने बताए।

footwear zone

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद जयपुरी घर्तीले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नदबलिएकाले त्यसैमा विशेष ध्यान दिनुपर्ने बताए। उद्योग, पर्यटन, कृषि तथा स्वास्थ्य शिक्षाजस्ता विषयलाई विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा प्रमुख प्राथमिकतामा राखिएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै उनले उच्च शिक्षालाई अनुसन्धानमुखी र व्यवहारिक बनाउन आग्रह गरे।

सोही दलका सांसद शेख चाँदताराले विगतको सरकारको गलत नीतिका कारण अर्थतन्त्रमा संकट आएको भन्दै वर्तमान सरकार र अर्थमन्त्रीलाई दोष दिने प्रवृत्ति सदासर्वदा गलत भएको धारणा राखे। नेकपा (एमाले)का सांसद् कृष्णप्रसाद दाहालले बजेटका प्राथमिकता र सिद्धान्त कार्यान्वयमुखी हुनुपर्नेमा जोड दिँदै अन्यथा भएको खण्डमा त्यो केवल निवन्धमा मात्रै सिमित हुने धारणा राखे ।

उनले प्रदेश र स्थानीय तहले गर्ने कामलाई माथि नै राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने सुझाव दिए। बजेट र योजना नभएका कार्यक्रम बालुवाटारबाट श्रव्यदृश्यका माध्यमबाट शिलान्यास गरेर अर्थतन्त्रलाई समस्यामा पारिएको भन्दै सांसद् रामबहादुर विष्टले गलत अभ्यासलाई पूर्णरूपमा परित्याग गर्नुपर्ने बताए। सांसदद्वय प्रेमप्रसाद तुलाचन र रामबहादुर विष्टले विनियोजन विधेयकका प्राथमिकतालाई थप प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.