परम्परा जोगाई राख्नलाई मात्रै सारङ्गी बजाउँदै

देउखुरी ।
कहाँ गयो गीत भन्ने गाइने दाइ .
दुःख पीर विरहमा चाइने है ..
सम्पत्तिको नाउँमा हाम्रो यही सारङ्गी बाजा .
बज्नै छाड्यो भन्छन्,गाउँघरमा आज ..

घोराही उपमहानगरपालिका–११ मज्गैका ३६ वर्षीय विनोद गन्धर्व आफ्नो पुख्र्यौली पेशा जोगाउन घोराही बजारमा सारङ्गी रेटेर हिँड्दै गर्दा भेटिए । तिहारको पूर्वसन्ध्यामा गाउँघरमा गन्धर्वले गीत गाउँदा रमाइलो हुने गरेको छ ।

घरमा बुवाले सारङ्गी बजाएको देखेर सिकेको उनी बताउँछन् । “सारङ्गीको महत्व बुझेकाले राम्रो मान्छन्, कसैले हातपाखुरा बलिया छन्, काम गरेर खाउ भन्छन्”, उनले भने, “तीज, दसँै, तिहार र माघीमा गीत गाउन हिँड्ने गर्छांै, परम्परा जोगाई राख्नलाई मात्रै सारङ्गी बजाउने गरेका छौँ ।”,

footwear zone

पछिल्लो समय सारङ्गी बजाएर पेट पाल्न सकिने अवस्था छैन । सोही ठाउँका शम्भु गन्धर्व एउटा हातमा सारङ्गी अर्को हातमा झोला बोकेर घोराही–१५ भरतपुरमा आफ्नो पुख्र्यौली पेशा जोगाउनकै लागि सारङ्गी रेटेर हिँड्दै गर्दा भेटिए । उनले सारङ्गी रेटेर जीवन चलाउन मुस्किल परेको दुःखेसो पोखे । “उतिबेला हामीले एक ठाउँमा भएको घट्ना अरुको ठाउँमा सारङ्गी बजाएर गीतमार्फत सुनाउथ्यौँ, हामीले भनेपछि मात्र अरुले ए फलानो गाउँमा त यस्तो भएको रैछ नि भनेर चाल पाउथेँ”, उनी थप्छन्, “आजभोलि केही घटना घट्नेबित्तिकै रेडियो, टेलिभिजनले फुकिहाल्छन्, अहिलेका पुस्ताले यो बुझ्न सकेका छैनन् ।”

धेरैले पेशा परिवर्तन गरे पनि कतिपय गन्र्धवको मनले पुख्र्यौली पेशालाई चटक्कै माया मार्न सकेका छैनन् । नयाँपुस्तालाई सारङ्गी बाजा चिनाउँदै गीत गाउदै आशिष दिँदै हिँडेका छन् । “गाउँमा पुग्दा कसै कसैले त सुन्न चाख मान्छन र कसैले पटककै चाख राख्दैनन्, दैलोबाट २०÷५० रुपैयाँ दिन्छन्”, उनले भने ।

नेपालमा गन्धर्व समुदाय साङ्गीतिक समाचार वाचकका रुपमा परिचित छ । गायन पेसाबाट नै जीविकोपार्जन गर्दै आइरहेको गन्धर्व जातिले पछिल्लो समय सारङ्गी रेटेर पेट पाल्न नसक्ने अवस्था आएको छ । कतिपयले पेशा परिवर्तन गरेका छन् । केहीले जसोतसो पुख्र्यौली पेशा बचाई राखेका छन् । कुनै समय उनीहरु देशमा घटेको महत्वपूर्ण घटनालाई टिपेर गीत बनाएर गाउँघरमा सुनाउन हिँड्थे । रेडियो, टेलिभिजन, पत्रपत्रिका र अन्य सञ्चारका माध्यम नहुँदा गन्धर्व नै समाचार वाचन गरेर हिँड्ने गर्दथे ।

विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य र शुभसाइतका अवसरमा गन्धर्व जातिका पुरुषले माङ्गल गीत गाउने चलन थियो । दसैँका अवसरमा मालसिरी गीत गाइन्थ्यो । तिहारमा भैलोको आशिक दिने गीत गाएर वातावरणलाई सङ्गीतमय बनाउने गरिन्थ्यो । रासस

You might also like

Comments are closed.