प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासी नेपालीको सहयोगमा अत्याधुनिक प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ।

प्रवासी नेपालीको रु तीन करोड भन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको हो। स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको छ।

रु तीन करोड ४५ लाखको लागतमा निर्माण भएको विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले रु तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर पुनले बताए।

footwear zone

पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविस जयन्ती माविको भवन विसं २०७२ को भूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए। साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ५० लाख सहयोग उपलब्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई सहयोगका लागि आह्वान गरेको थियो ।

“विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीबाट मनग्गे सहयोग भएको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेनपा–३ का वडाध्यक्ष पदम पुनले भने,“दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाले सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीप्रति हामी आभारी छौँ ।”

विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि इँट्टा बनाएर भवन निर्माण गरेको हो । अहिले रंगरोगन गरेपछि आधुनिक शैलीको सो विद्यालय भवन चिटिक्क देखिएको छ। गाउँमै अत्याधुनिक प्रविधि सहितका सुविधा सम्पन्न विद्यालय भवन बनेपछि यहाँ विद्यार्थीहरुको चाप पनि बढेको र उनीहरुको पढाइप्रति पनि रुचि बढेको अध्यक्ष पुनले बताए ।

You might also like

Comments are closed.