टीकापुर । देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङरोगन गरेको हो ।
शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन रङ्गरोगन गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिए । ‘‘सरकारले सबै विद्यालय एउटै खालको देखिनुपर्छ भनी गरेको निर्णयअनुसार हामीले पनि रङरोगन थालेका छौँ’’, अधिृकत अवस्थीले भने, ‘‘विद्यालय रङरोगन गर्दा सरसफाइ र मर्मतको माग पनि भएको छ । यसले शिक्षक, विद्यार्थी सबैलाई उत्साहित बनाएको छ ।’’
सबै विद्यालय भवनको रङ एकै प्रकारको बनाउन र शिक्षाका निकायमा एकरूपता ल्याउन अनिवार्य रूपमा कलर कोड प्रयोग गर्न थालेको उनी बताँउछन् । टीकापुर नगरपालिकाले पहिलो चरणमा माध्यमिक विद्यालयलाई प्राथमिकतामा दिएर रङ्गरोगन गरेको हो ।
‘‘सङ्घीय सरकारको रु ७६ लाख बजेट रङ्गरोगनका लागि आएको थियो, जसमा टेण्डर आह्वानमा रु ३९ लाखमा ठेक्का स्वीकृत भएर १८ विद्यालय रङ्गरोगन सकियो’’, नगरपालिकाका इञ्जिनीयर नवीन ओझाले भने, ‘‘अब बाँकी रहेको रकम पुनः ठेक्का सम्झौता गरी थप विद्यालय यसै आर्थिक वर्षमा रङ्गरोगन गरिनेछ ।’’ टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् । नगरपालिका आफैँले बजेट थप गरेर भए पनि यसै आर्थिक वर्षमा सबै विद्यालय रङ्गरोगन गर्ने योजना बनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका–२०६९ अनुसार एकै रङ प्रयोग गरिएको छ । निर्देशिकाअनुसार भवनको मुख्य प्लास्टरको भाग फिका पहेलो, मुख्य भाग इँट्टा वा ढुङ्गाको गाह्रोमा पारदर्शी रसायन प्रयोग भएको, ठाडो र तेस्रो ब्यान्ड सेतो, छज्जा वा फेसिया खरानी र छाना तेरकोटा वा रातो बनाइएको इञ्जिनीयर ओझाले बताए । पहेलो रङ उज्यालो र सबैलाई मनपर्ने भएकाले विद्यालयको मुख्य भाग पहेलो र घामपानीबाट जोगाउन मुख्य भागको इँट्टामा पारदर्शी रसायन प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । ‘‘कोरोना महामारीपछि यहाँका अधिकांश विद्यालय क्वारेन्टिन बनाइएका थिए’’, इञ्जिनीयर ओझा भन्छन्, ‘‘अहिले ती विद्यालय सरसफाइसँगै रङ्गरोगन गर्दा विद्यालय प्रशासन र अभिभावक खुशी भएका छन् ।’’
रङरोगनपछि विद्यालय सफा र आकर्षक देखिएका छन् । वर्षौदेखि रङ्गरोगन गर्न नसकिएका विद्यालय रङ्गरोगनपछि आकर्षक देखिनुका साथै विद्यार्थीको आकर्षण बढेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतले बताए । ‘‘कतिपय विद्यालय स्थापनादेखि अहिलेसम्म कहिल्यै रङ्गरोगन नभएका पनि थिए, मर्मत नभएर खण्डहर जस्तै भएका थिए’’, प्रधानाध्यापक कठायत भन्छन्, ‘‘अहिले चिटिक्क देखिएका छन् । सफा सबैलाई मनपर्छ । यसले उत्साह थपिदिएको छ ।’’
टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् भने निजी विद्यालयको सङ्ख्या ४२ छ । ‘‘निजी विद्यालयमा पनि कलर कोड गर्न सकिएको भए विद्यालय पहिचानमा सहज हुने थियो’’, अभिभावक रंग तिमिल्सिना भन्नुहुन्छ, ‘‘निजी विद्यालयमा पनि कलर कोड गरेर एक खालको देखिन सके विद्यालय पहिचानमा सहजता हुन्छ ।’’




Comments are closed.