काठमाडौं । नेपालको शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन आफूले भूमिका निर्वाह गर्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षका उम्मेदवार शेषराज भट्टराईले बताएका छन् । असार ३० गते हुने इक्यान निर्वाचनका लागि उनी चुनावी मैदानमा छन् । आफूले संस्थामा पुर्याएको योगदान र क्षमताका कारण व्यवसायीहरुको चाहना अनुसार नै अध्यक्षको उम्मेदवार बनेको उनको भनाइ छ ।
अर्बिट इन्टरनेशनल एजुकेसनका सञ्चालक शेषराज भट्टराई इक्यानको बर्तमान कार्यसमितिमा उपाध्यक्ष भएर काम गरिरहेका छन् । यस अगाडि महासचिव भएर काम गरेको अनुभवसमेत छ । ‘सरकारको अस्थिर नीतिका कारण समय समयमा हाम्रो व्यवसायमाथि विभिन्न समस्याहरु सिर्जना गर्ने प्रयास भइरहन्छ । त्यस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि पनि हाम्रो प्रयास रहन्छ,’ एक कार्यक्रममा बोल्दै उनले भने ।
शैक्षिक पारमर्श व्यवसाय तथा इक्यानका बारेमा उठेका विषयवस्तुलाई तार्किक निष्कर्षमा पुर्याउन पनि आफू इक्यानको अध्यक्ष बन्नुपर्ने उनको भनाइ छ । आइटिपी विरुद्धको लडाईं चलिरहेको समयमा उनी इक्यानको महासचिव थिए । आफै प्रतिवादी भएर अदालत पुगेका थिए । ‘म आफ्नो व्यवसायलाई भन्दा संस्थाको हितलाई प्राथमिकता दिने मान्छे हुँ,’ उनले भने, ‘पछिल्लो समय विभिन्न विषय परिवेशसँगै आजका दिनमा धरौटीका प्रसंग आएका छन् जुन कुनै तरिकाबाट पनि जायज छैन । सरकारले त्यस्तो नीति ल्यायो भने हामी डटेर सामना गर्नेछौं ।

सरोकारवाला निकाय, सरकारी निकाय, कुटनैतिक निकाय, विदेशका कलेज तथा युनिभर्सिटीसँग सहकार्यमा काम गर्ने, इक्यानका शाखाहरुसँग समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम गर्ने उनले जनाएका छन् । इक्यानले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउँदै अध्यक्षका उम्मेदवार भट्टराईले पूर्व अध्यक्षहरुको पालामा भएका राम्रा कामलाई निरन्तरता दिदै नयाँ र रचनात्मक कामको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् । ‘इक्यानका मेम्वर हुँ भन्दा गर्व लाग्ने संस्था बनाउनेछौं,’ उनले भने ।

‘पछिल्लो समय कन्सल्टेन्सीका विभिन्न विषयवस्तु उठिरहेका छन् ती विषयवस्तुलाई बलियो लिगेसीबाट तार्किक निष्कर्षमा पुर्याउनका लागि मेरो उम्मेदवारी अध्यक्षमा हो । मैले महासचिव हुँदादेखि नै स्मार्ट इक्यानको परिकल्पना गरेको थिएँ । संस्थागत हितका काममा लागेको छु र निरन्तर लाग्नेछु,’ उनले भने ।




Comments are closed.