काठमाडौं । प्रतिनिधि सभा सांसदमा शिशीर खनालले उम्मेदवारी दिने भएका छन् । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय खनाल काठमाडौं क्षेत्र नं ६ बाट चुनाव लड्ने तयारीमा छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घन्टी’ लिएर चुनाव लड्ने भएका छन् ।
लामो समयदेखि शिक्षाको क्षेत्रमा आवद्ध रहेको हुँदा सम्पूर्ण बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने उद्देश्यका साथ त्यसको नीति निर्माणको काम गर्ने आफ्नो पहिलो र मुख्य एजेन्डा रहेको खनाल बताउँछन् । यसका साथै जनताको हितमा राष्ट्रिय मुद्धाहरुमा काम गर्ने उनको योजना छ ।
‘म आफै पनि यहाँको बासिन्दा भएको हुँदा मलाई यहाँको समस्या के–के छ भन्ने कुराको हेक्का छ । हाम्रो क्षेत्रमा विशेष गरि बाटोघाटो, खानेपानीको समस्याहरु धेरै छन्,’ खनालले भने, ‘यसका साथै सरकारी संयन्त्रबाट पाउनुपर्ने सेवाहरु पनि नागरिकले पाएको अवस्था छैन । उनीहरुले पाउनु पर्ने सेवा दिलाउन सक्रिय भूमिका खेल्नेछु ।’
आफ्नै क्षेत्रबाट स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका खनाल चुनाव जित्नेमा ढुक्क छन् । अहिलेका जनताले नयाँ र सक्षम व्यक्ति खोजेको हुँदा आफू त्यसका लागि सक्षम रहेको खनाल बताउँछन् । अहिलेको सरकारको कामप्रति जनता असन्तुष्ट रहेको र सर्वेक्षणले पनि त्यो देखाएको हुँदा आफूलाई जित्छु नै भन्ने लागेको खनालले बताए । ‘जनताले अब निर्वाचनमा मतदान गर्नका लागि विकल्प पाएका छन् । सधैं पुरानै दललाई मतदान गरेर समस्याको समाधान हुँदैन भन्ने जनताले बुझेको मैले महसुस गरेको छु,’ उनले भने ।

लामो समयदेखि राजनीतिक पार्टीहरुले राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तनका लागि काम गरेपनि नागरिकको जनजीवनसँग सम्बन्धित कुराहरु बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुराहरुमा उनीहरुले चासो नदिएको खनाल बताउँछन् । ‘सक्षम व्यक्ति सरकारमा आए मात्रै अब व्यवस्था र अवस्था परिवर्तन हुन सक्छ भन्ने सोचको विकास नागरिकमा हुन थालेको छ,’ खनालले भने ।
बिगत लामो समयदेखि आफूले गाउँगाउँमा शिक्षा परिवर्तनका लागि काम गरिरहेको र अन्य विकासका कामहरु पनि गर्दै आएको हुँदा राजनीति मार्फत नीतिगत तहबाट पनि सुधारका काम गर्ने आफ्नो योजना रहेको खनालले बताए ।
त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह लिने सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । जुन यस्तो छः
‘स्वतन्त्र रहने गरि चुनाव चिन्ह घण्टी र Rastriya Swatantra Party सँग सहकार्य …
अब जान्नेले गर्ने हो । आफुले जानेको क्षेत्रमा गर्ने हो । सबै मिलेर आफु-आफुले जानेको क्षेत्रमा योगदान दिने हो । यसका लागि एक आपसमा शंका मात्रै गर्ने, एक अर्कोको अस्तित्व नस्विकार्ने गर्दा सामूहिकताको अभाव रहन्छ । विगतका असल कर्मलाई अवमुल्यन गरेर केहि कमजोरी र खराबी हेरेर आलोचना मात्रै गरेर कोही कतै पुग्दैन । सकारात्मक परिवर्तन नै हुँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत मैले आफुले गर्न सक्न ठाउँ देखेको छु । देशका विभिन्न भागमा मैले शिक्षाक्षेत्रमा काम गरेको अनुभव छ । यसलाई म राष्ट्रहीतमा देशव्यापीरुपमा लैजान चाहन्छु । धेरै लामो छलफल र बुझाइ पछि राष्ट्रिय स्वतन्त्र पार्टी यसका लागि सबै भन्दा सहि विकल्प हो भन्ने निष्कर्षमा पुगेको छु । यहि सेरोफेरोमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनबाट निर्वाचित भए पार्टीमा स्वतन्त्र रहने गरि आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि लिने भएको छु। यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार प्रकट गर्दछु । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाण्डौँ ६ लागि प्रस्तावित उम्मेदवारकारुपमा निशर्त पार्टीको प्रारम्भीक निर्वाचनमा सरिक हुने जानकारी गराउँदछु । विश्वास गर्छु, मैले लिएको निर्णयमा मलाई साथ दिनेहरुको साथ रहनेछ ।’




Comments are closed.