काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले विद्युतीय सवारीको कर बढाउन नहुने बताएकी छन् । बुधबार संसदको विशेष समयमा बोल्दै उनले उनले सके विद्युतीय सवारीको अहिलेको करको दर घटाउन र नसके बढाउने चेस्टा नगर्न सचेत गराएकी छन् ।
‘देशको बढ्दो व्यापार घाटा नियन्त्रण तथा जलबायु संकटलाई मध्यनजर गर्दै वातावरण प्रदुषण नियन्त्रणका लागि ग्यास, डिजल, पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्नु अनिवार्य छ,’ उनले संसदमा भनेकी छन् ।
नीति तथा कार्यक्रममा पनि आंशिक रुपमा यो विषय समेटिएको स्मरण गर्दै उनले उक्त नीतिको विरुद्ध नजान पनि सरकारलाई सचेत गराएकी छन् । ‘विभिन्न स्वार्थ समूहहरुसँगको मिलमतोमा विद्युतीय सवारीको कर बढाउने चलखेल हुँदैछ भन्ने कुरा गाइगुइ सुनिदै छ,’ उनले भनेकी छन्, ‘सरकारले २०२५ सम्ममा नेपालमा गुड्ने कुल निजी सवारी मध्ये विद्युतीय सवारीको संख्या २५ प्रतिशत र सार्वजनिक सवारीको संख्या २० प्रतिशत लक्ष्य लिएको छ । करको दर बढाउने हो भने यो सम्भव पक्कै पनि हुने छैन ।’

विद्युतीय सवारीलाई राजश्व संकलनको माध्यमको रुपमा मात्रै नलिई वातावरणीय संरक्षणमा पनि टेवा पुर्याउँछ भन्ने कुरा बुझ्नुपर्ने गौतमको भनाइ छ । उनले भनेकी छन्, ‘बजेटलाई अन्तिम रुप दिँदै गर्दा सम्माननीय सभामुख ज्यु मार्फत म माननीय अर्थमन्त्री ज्युलाई अनुरोध गर्छु, सके विद्युतीय सवारीको अहिलेको करको दर घटाउनुहोस्, नसके बढाउने चेस्टा त गर्दै नगर्नुहोस् ।’




Comments are closed.