भम्केनीधाम सौर्य बत्तीले झलमल्ल, प्रहरी चौकी भवन निर्माण

कञ्चनपुर । भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा सौर्य बत्ती जडान गरिएको छ । नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्तरूपमासौर्य बत्ती जडान गरेका हुन् । सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल भएको छ । यसअघि उज्यालो नहुँदा भक्तजनलाई राति समस्या हुने गरेको थियो ।

महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामको आग्रहमा २० वटा सौर्य बत्ती जडान गरिएको छ । भीमदत्त–८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले भम्केनीधामको धार्मिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएर सौर्य बत्ती जडान गरिएको बताए । “भम्केनीधाम नेपालको चौथो धाम हो, यसको धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिका र वडा कार्यालय एकजुट भएर लागेका छौँ, उच्च प्राथकिता दिएका छौँ”, उनले भने, “राति उज्यालो नहुँदा समस्या हुने भएपछि सौर्य बत्ती बालेका छौँ ।”

चुरे फेदको यस धाममा राति उज्यालो नहुँदा सरसामान चोरी हुने डर थियो । अहिले सौर्य बत्ती जडान भएर झिलीमिली भएपछि चोरी हुने सम्भावना हटेको भक्तजन बताउँछन् । जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले चार महिनासम्म मौन व्रत बसेर भम्केनीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पहिचान गराएका थिए । जगद्गुरुको पहलमा अहिले धाममा ७५ फिट अग्लो अष्टधातुको मूर्ति निर्माण अघि बढेको छ । अष्ठधातुको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसमध्ये हालसम्म रु ५० लाख सहयोग रकम मूर्ति निर्माणका लागि उपलब्ध भइसकेको छ ।

footwear zone

भम्केनीधामसम्म बाटो निर्माण गरी आवागमन सहज बनाइएको छ । सुदूरपश्चिमका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कुण्ड निर्माण गरिएका छन् । स्थानीयवासीका अनुसार पौराणिककालमा भकभक गरी आउने पानीका आधारमा यसको नाम भम्केनी राखिएको हो । भम्केनीका छ कुण्डमध्ये पाँच पाण्डव र एक द्रौपदीको रहेको किंवदन्ती छ । भीमले द्रौपदीलाई नुहाउन कुण्ड बनाएको स्थानीयवासी बताउँछन् ।

भम्केनीधाम प्रचार प्रसारमा आएपछि बर्सेनि पूर्वाधार निर्माणका काम गरिएका छन् । अहिले महेन्द्रनगरबाट भम्केनीधामसम्म सडक कालोपत्र गरिएको छ । ब्रह्मदेवबाट रौटेलासम्मको जैविकमार्ग पनि धाम भएर निर्माण गरिएको छ । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामका अध्यक्ष वीरबहादुर सिंहले धामको विकासका लागि गुरुयोजना निर्माण गरिएको बताए । छ दशमलव दुई हेक्टरमा फैलिएको धामलाई पुरातात्विक विभागको धार्मिक पर्यटकीय क्षेत्रमा समावेश गराउन पहल गरिएको छ ।

कृष्णपुर नगरपालिका–२ वाणीमा अस्थायी प्रहरी पोष्ट (प्रहरी चौकी)को पक्की भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको हो ।

प्रतिष्ठा निर्माण सेवा प्रालिले ठेक्का सम्झौताअनुसार पाँच महिनाको अवधिमै भवन निर्माण पूरा गरेको छ । निर्माण गरिएको भवनमा कार्यालय कक्ष, ब्यारेक, शौचालय, स्नानघरलगायत छन् । सुदूरपश्चि प्रदेशसभा सदस्य महेशदत्त जोशीले भवन निर्माणपछि प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न सहज भएको बताए ।

प्रदेशसभा सदस्य जोशीले स्थायी प्रहरी चौकी स्थापनाका लागि स्तरवृद्धि गर्न सम्बन्धित निकायमा पहल गरिने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्की भवन निर्माण भएपछि स्तरीय सेवा दिन सहज भएको बताए ।

You might also like

Comments are closed.