सुपरमादीको व्यावसायिक उत्पादन मंसिरबाट

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको महाप्रवन्धक प्रकृतिराज तिमिल्सिनाले जानकारी दिए ।

४४ मेगावाट क्षमताको उक्त आयोजना कास्कीको मादी गाउँपालिकाको सिक्लेस र ताङतिङको बीचमा पर्छ । निर्माणाधीन आयोजनाको काम छिट्टै सम्पन्न गरी आगामी मंसिर १ गतेबाट व्यावसायिक उत्पादन सुरु हुने तिमिल्सिनाले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् कास्कीको लेखनाथस्थित सव स्टेसनमा जोडिनेछ ।

यसैबीच कम्पनीले आयोजनाको लागि प्रारम्भिक सेयर (आइपिओ) निष्काशनको तयारी गरेको छ । २४ करोड २६ लाख किलोवाट आवर वार्षिक उत्पादन क्षमता रहेको उक्त आयोजनाका लागि ३१ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ सर्वसाधरणका लागि जारी हुनेछ ।

footwear zone

आयोजना सम्पन्न गर्नका लागि सानिमा बैंकको नेतृत्वमा ६ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी भएको छ । १० वर्षमा कर्जा चुक्ता गर्नेगरी बैंकसँग आयोजनाको सम्झौता भएको छ । कुल लागत ८ अर्ब ३५ करोड रुपैयाँ मध्ये संस्थापक लगानीकर्ताबाट १ अर्ब ७५ करोड ५० लाख रुपैयाँ लगानी हुँदैछ ।

You might also like

Comments are closed.