पोखरा । स्याङ्जामा सबैभन्दा बढी आयकर तिर्ने सूर्योदय लघुवित्त वित्तीय संस्था लि. सम्मानित भएको छ । नवौं राष्ट्रिय कर सप्ताह समापनको अवसरमा आइतबार आन्तरिक राजश्व कार्यालय पोखराले संस्थाका सञ्चालक गुडाखर सापकोटालाई सम्मान गरेको हो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले संस्थालाई सम्मान गरेको हो । सूर्योदय लघुवित्त वित्तीय संस्था गत ४ आर्थिक वर्षदेखि लगायत उत्कृष्ट करदाता बन्न सफल हुँदै सम्मानित भएको छ ।
‘कर करले तिर्ने होइन, प्रेरित भएर तिर्ने वातावरण बनाउनुपर्छ,’ सम्मान ग्रहणपछि सापकोटाले उक्त अवसरमा भने, ‘राज्यले राजश्वको सही सदुपयोग गर्नुपर्छ ।’ करको दर वृद्धिमा भन्दा दायरा बढाउनुपर्ने उनको भनाइ थियो ।

कर सप्ताहअन्तर्गत यस वर्ष लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, पृथ्वीनारायण क्याम्पसका व्यवस्थापनका विद्यार्थीसँग कर सचेतना तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

कार्यालयले चालू आर्थिक वर्षमा रु चार अर्ब ८२ करोड राजश्व संकलनको लक्ष्य लिएकामा पहिलो चौमासिकमा रु एक अर्ब २० करोड राजश्व संकलन गरेको जनाएको छ । कात्तिक मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड उठाउने लक्ष्य लिएको थियो ।
आन्तरिक राजश्व कार्यालय पोखराअन्तर्गत कास्की र स्याङ्जामा गरी एक लाख ५८ हजार ८५ करदाता कार्यालयमा दर्ता भएको कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।




Comments are closed.