काठमाडौं । सुष्मा महरा अहिले नाम चलेको व्युटिसियन हुन्, उनी बिहानदेखि बेलुकासम्म महिलाहरूको समस्या सुन्छिन् र त्यसको समाधान गर्न प्रयत्नशील हुन्छिन् ।
तर, असार २७ गते उनले नसोचेको एउटा घटना भयो वा घटाइयो । जुन घटना घट्यो त्यो उनको सोच भन्दा बिलकुल बाहिर थियो । यद्यपि, त्यसको यथार्थ समयक्रमसँगै बाहिर आउने र सत्य पुष्टि हुने उनको विश्वास छ ।
त्यस दिन महरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई श्रद्धाञ्जली अर्पण गरेर फर्किएकी थिइन् । त्यसपछि उनी केएल टावरस्थित ओपनिङको अन्तिम तयारीमा रहेको फेसियल हाउसको आउटलेट भिजिट गर्न गइन् ।

आउटलेट निरीक्षणपछि त्यहाँ उनी केहीबेर बसिन् पनि । केही समयको बसाइपछि त्यहाँबाट बाहिरिन लागेकी उनलाई एक जना अधवैंशे महिलाले होहल्ला गर्दै तथानाम गाली गर्न थालिन् । ‘जहाँ पनि सीसीटीभी राख्ने ? तलाईं लाज छैन ?’ भन्दै ती महिलाले अरु धेरै शब्द प्रयोग गरेर एकोहोरो गाली गरीरहिन् । ती महिलाले गाली मात्र होइन महराको सबै व्यवसाय बन्द गराइदिने धम्की समेत उसैबेला दिइन् ।
महिला कराइरहँदा वरिष्ठ ब्युटिसियन समेत रहेकी फेसियल हाउसकी प्रबन्धक सुष्मा महरा ‘अक्क न बक्क’ भइन् । तै पनि महराले ‘जता पनि छैन सीसीटीभी किन आत्तिनुभएको’ भनेर महिलालाई शान्त पार्ने कोशिस गरिन् । तर, महिला शान्त भइनन् । बरु कसैलाई फोन गरेर तत्काल केएल टावर आउन आग्रह गर्न थालिन्, मानौँ सुष्माले कसैको ज्यान लिएझैंगरी उनले अरु कसैलाई त्यहाँ बोलाइरहेकी थिइन् ।
सुष्माले फेरि भनिन्, ‘चेञ्जिङ रुममा सीसीटीभी छैन, हजुर किन आत्तिनुभएको ? के समस्या प¥यो र ? हामी यहाँ नयाँ गर्दैछौं कतिपय कुराहरू मिल्न र मिलाउन पनि बाँकी छ’ सुष्माको कुरा सकिन नपाउँदै ती महिलाले भनिन्, ‘मैले पुलिस बोलाइसकेँ अब देख्लिस् ।’
नभन्दै प्रहरीको एउटा टोली केएल टावरस्थित फेसियल हाउसको कार्यालयमा आइपुग्यो । ब्युटिसियन महरालाई गौशला प्रहरीमा लगियो । प्रहरीले घटना बुझ्दा सीसीटीभी राखिएको सङ्केतदेखि कमन रूमहरूमा मात्र सीसीटीभी राखेको देखेपछि मुद्दा चलाउन नमिल्ने निष्कर्षसहित मिलापत्र गराएर दुबै पक्षलाई पठायो ।

तर, ती महिला त्यत्तिमै रोकिइनन् । मिलापत्र भइसकेको विषयलाई पुनः जीवीत गराएर प्रहरी वृत्त गौशलामा अर्को उजुरी दिइन् र महरालाई पक्राउ पुर्जी जारी गर्न लगाइन् । उनको यो हर्कतबाट उनी महराको तर्फबाट कुनै गल्ती नभए पनि जसरी हुन्छ फसाउने नियोजित योजना रहेको देखिन्छ । त्यसै योजना अनुसार उनले मिलापत्र भइसकेको विषयलाई कोही व्यक्तिको दबाब वा कुनै पहुँचमार्फत पुनः उल्टाएको आभाष पनि हुन्छ ।
त्यसो त दोस्रोपटक प्रहरी वृत्त गौशला पुगेकी ती महिलाको उजुरी दर्ता गर्न प्रहरीले पनि अस्वीकार गरेको थियो । तर, उनले प्रहरीलाई समेत पैसामा बिकेको भन्दै गालीको भाषा बोल्न भ्याइन् र जबरजस्ती मुद्दा दर्ता गर्न लगाइन् । गल्ती नै नगरेको विषयलाई लिएर प्रहरीसम्म पुग्नुपरेको, मिलापत्र भइसकेको विषयलाई पुनः उचालेर आफूमाथि अनावश्यक आक्रमण भएको भन्दै ब्युटिसियन महराले उचित न्यायका लागि उच्च अदालत पाटनमा निवेदन दिइन् ।
अहिले उच्च अदालत पाटनले महराको पक्षमा अन्तरिम आदेश (स्टे-अर्डर) जारी गरिसकेको छ । यसबाट देशमा न्याय अझै बाँकी छ भन्ने कुराको आभाष आफूलाई भइरहेको महरा बताउँछिन् । जुन कुरा उच्च अदालत पाटनले महराको पक्षमा गरेको अन्तरिम आदेशले देखाएको छ ।

अनावश्यक रूपमै हतोत्साही भएका ब्युटिसियनहरूलाई पाटन उच्च अदालतको आदेशले छुट्टै ऊर्जा भ¥यो र उनीहरू एकाएक जागरुक बने । त्यसपछि उनीहरूले देखाए महिलाहरूको एकताबद्ध अभियान र शक्ति । जसले अनावश्यक रूपमा दुःख दिएकी ती महिलाको फेहरिस्त पत्ता लगायो । कसैको दबाब र पहुँचको भरमा उनले महरामाथि यो कदम उठाएको पनि समपुष्टि गरिदियो भन्ने व्युटिसिएनहरुको विश्वास छ ।
महरालाई योजनाबद्ध रूपमा दुःख दिने ती सेवाग्राही महिला अध्यागमन विभागमा कार्यरत छन् । त्यसअघि गृह मन्त्रालयअन्तर्गतका निकायहरूमा समेत काम गरिसकेकी उनले आफ्नो पहुँच महरामाथि देखाउन खोजेको पनि स्पष्ट भइसकेको छ । गृह मन्त्रालय मातहत रहेर काम गर्दाको पहुँच प्रयोग गरेर महरालाई गलाउने उनको योजना अहिले करिब विफल भइसकेको छ ।
आफू उच्च तहका सरकारी अधिकारीहरूसँगको पहुँचमा रहेको भन्दै उनले दोस्रोपटक गौशला प्रहरीमै मुद्दा दर्ता गरेको पनि अहिले छर्लङ्ग भइसकेको महरा बताउँछिन् । ‘उनको विपक्षमा जो बोल्छ उसलाई ठेगान लगाइहाल्ने र प्रहरीहरू मुकदर्शक बन्नुपर्ने अवस्था सृजना हुँदै आएको रहस्यहरू पनि घटनाहरूबाट खुल्दै गएको छ । महरासँगको मुद्दामामिला प्रकरणमा उनले व्यक्त गरेको केही शब्दहरुले पनि उनको असलियत अझ प्रष्ट्याएको छ,’ महरा बताउँछिन् ।
ती कर्मचारीको त्यो वाक्यले आफूलाई निक्कै पोलेको बताउँदै महराले भनिन्, ‘म मरेपछि मेरो लाशमा ब्युटिसियन लेखेर ओढाइदिनू, ब्युटिपार्लर मेरो मन्दिर हो ।’ महराको यो भावुक अभिव्यक्तिपछि आफ्नो सदस्यलाई परेको पीडामा मह्लम लगाउन नेपाल ब्युटिसियन संघ पनि अघि स¥यो । त्यसलाई पनि ती कर्मचारीले ‘ग्याङ’को संज्ञा दिइन् ।

संघका पदाधिकारीहरूलाई तर्साउन मिडियादेखि अनेक प्रयत्न गरे पनि संघ पछि नहटेको महराको भनाइ छ । उनीहरूले गृह मन्त्रालय, उद्योग मन्त्रालय, सभामुख, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई ज्ञापनपत्र बुझाएर घटनाको बारेमा अवगत गराएका छन् ।
साथै, माइतीघर मण्डलामा विरोध सभा गरिरहेका उनीहरूलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि ढुक्क भएर आफ्नो पेसा व्यवसाय गर्न आश्वस्त पारेका छन् ।
गृहमन्त्री श्रेष्ठको अभिव्यक्तिले आम ब्युटिसियनहरूले अभिभावकत्व पाएको आभाष पनि गरिरहेको महराले बताइन् । आफ्नो व्यवसायलाई थप बलियो र ढुक्क बनाउन नेपाल ब्युटिसियन संघले अहिले पनि विभिन्न संघसंस्थासँग एकबद्धताको लागि सहकार्य जारी राखेको जानकारी उनले दिइन् ।
आगामी दिनमा यस्तो सुनजियोत घटना नहोस् भनेर पाँच बुँदे मागसहित आन्दोलनमा उत्रने तयारी पनि गरिरहेको उनको भनाइ छ । संघको बुझाईमा ती कर्मचारी एउटा पात्र मात्र हो । आज पनि ब्युटिसियन भनेपछि तल्लो दर्जामा हेर्ने व्यवहारको विरुद्धमा अबको आन्दोलन देशव्यापी हुने नेपाल ब्युटिसियन संघकी अध्यक्ष सरीता गौतम बताउँछिन् ।




Comments are closed.