पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशन यही भदौ २४ र २५ गते हुँदैछ । संघको ३४औं महाधिवेशनका लागि महासचिवमा तारानाथ ढुंगानाले उम्मेदवारी दिएका छन् । प्रस्तुत छ, ढुंगानाको उम्मेदवारीका सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानीः
अन्तिम समयमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ । तपाईको उम्मेदवारी केका लागि र किन ?
अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, व्यावसायिक एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ स्वतन्त्ररुपमा मेरो उम्मेदवारी हो । मुलत के छ, भन्नुहुन्छ भने ६८ वर्ष पुरानो गर्विलो इतिहास छ संघको । यो इतिहास जोगाइ राख्नका लागि समग्र आम उद्योगी, व्यवसायीको साझा समस्या समाधानका लागि तिनै तहको सरकारसँग समन्वयकारी भूमिका खेल्ने नेतृत्व संघमा हुनु जरुरी छ । महानगर र कास्की जिल्ला क्षेत्रमा ६० हजार व्यवसायी सरकारी निकायमा दर्ता छन् ।
पोखरा उद्योग वाणिज्य संघ यी सबैको साझा संस्था बन्नु पर्छ भन्ने मान्यता छ । यी सबैलाई समेट्न सकेको छैन् । अहिले भइरहेको ३ हजार १४३ सदस्यतालाई दुई वर्षे कार्यकालमा १० हजार पुर्याउने लक्ष्य, अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका साथ अगाडि बढ्ने साथै आम उद्योगीको समस्या निराकरणका लागि मेरो उम्मेदवारी हो ।

वस्तुगत हिसाबले कारोबार गर्ने ६०–६५ ओटा संघहरुको साझा समस्या सुन्ने, समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने योसहित सबै संस्था र व्यवसायीले अपनत्व महसुस गर्ने गरी संघलाई अभिभावकत्व ग्रहण गर्नुपर्नेछ । जुन अहिले र यस अघिका नेतृत्व र कार्यकारी पदमा बस्ने साथीहरुमा कमी देखियो । तसर्थ साच्चै व्यवसायीको संस्था र उनीहरुका पक्षमा काम गर्ने संस्था बनाउनका लागि मैले उम्मेदवारी दिनु उपयुक्त ठाने र उम्मेदवारी सार्वजनिक गरे ।
अहिलेसम्म २ जनाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । संस्थालाई व्यवसायीको हितमा लैजाने सपना देख्नुभएको छ । त्यसका लागि किन अध्यक्ष नभई महासचिवमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?
म पहिले पनि संघको एक कार्यकालमा कार्यकारी सदस्य भएर काम गरेको अनुभव, विभिन्न सामाजिक संघसंस्थाहरुमा नेतृत्वको अनुभव राखेको छु । मैले नेतृत्व गरेका पेशागत प्रतिष्ठानहरुलाई सबलरुपले अघि बढाएको र ती संस्थाको गरिमा उच्चरुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छु ।
तपाईले भनेजस्तै अध्यक्ष नेतृत्वमा हुन्छ । तर अध्यक्षलाई सहयोग गर्नका लागि कार्यकारीरुपमा रहने महासचिव पदनै हो । अध्यक्षका लागि दावी गरेर यो वा त्यसको भनेर जोडिनुभन्दा एक कार्यकाल महासचिवका रुपमा सम्पूर्ण उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने सोच छ । फेरी महासचिवले नै संघका सम्पूर्ण गतिविधि संचालन गर्छ । ती हरेक गतिविधिमा प्रत्येक सदस्य व्यवसायीले आफ्नो उपस्थिति महसुस गराउनु पर्छ । त्यसका लागि मैले यसपटक महासचिवमा आफ्नो बलियो दावेदारी अघि सारेको हुँ ।
दुई समूह छन् । तपाई कुनै पनि प्यानलमा हुनुहुन्न । तपाई प्यानलमा बस्न नरुचाउनु भएको हो की संघको नेतृत्वका लागि प्यानल बनाएर जानु हुँदैन भन्ने हो तपाईको विचार ?
तपाईले सोध्नुभएको कुरा एकदमै गम्भीर प्रश्न हो । यति लामो इतिहास बोकेको पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघलाई कुनै नेतृत्व वा कोही व्यक्तिको विरासतको निरन्तरताका रुपमा लिइनु हुँदैन । प्यानल, गुट, उपगुट, समुदाय वा संगठन होइन सम्पूर्ण व्यवसायीको अपनत्व हुनेगरी नेतृत्व चयन गरिनुपर्छ ।
सबैले संघ र व्यवसायीको हितमा काम गर्नेनै उद्देश्य छ भने, किन प्यानल बनाउनुपर्यो ? यसरी प्यानलमा जाँदा जित्नेमा दम्भ खडा गर्छ भने हार्नेमा हिनता बोध उत्पन्न हुन्छ । एकलरुपमा चुनावमा जाने हो भने अहिलेको अवस्थाका सबै व्यवसायी सदस्यहरुले कसले संघको नेतृत्वलाई बलियोरुपमा अघि बढाउँछ भन्ने सजिलै बुझेको छ । म यो विचमा धेरै सदस्यहरुकोमा आफ्ना एजेण्डा लिएर पुगेको छु । उहाँहरु संघको नेतृत्वलाई प्यानल बनाएर लैजान हुँदैन एकलरुपमा चुनाव गरेको नै उत्तम हुन्छ, भन्ने धारणा मैले पाएको छु । तसर्थ म एक्लै हुला तर सम्पूर्ण व्यवसायीहरुको साझा उम्मेदवार हुँ ।
अहिलेको अवस्थालाई हेर्ने हो भने पोखरा उद्योग वाणिज्य संघ हरेक हिसाबले कठिन अवस्थामा छ । पोखरा उद्योग वाणिज्य संघ कस्तो हुनुपर्छ भन्ने लाग्छ ? संघको सुखद् भावी दिनका लागि के एजेण्डा लिनुभएको छ ?
हो, पोखरा उद्योग वाणिज्य संघको अवस्था कठिन नै छ । हिजोका दिनमा सबैको अपेक्षा बन्ने संघ अहिले त्यो हुन सकिरहेको छैन । आर्थीक अवस्था निक्कै कमजोर बनिसकेको छ । तसर्थ अब त्यहाँ निर्वाचित भएर जाने जो कसैले संघको उज्वल भविष्य निर्माणका लागि प्रयत्न गर्नुपर्छ ।
हुन त चुनावी एजेण्डा बनाएर पदमा पुग्ने त्यसपछि आफ्नै एजेण्डा बिर्सने गरेका दृष्टान्त हामीसामु रहे । तसर्थ आफ्ना एजेण्डा मूलभूतरुपमा संघको आर्थिक अवस्था बलियो बनाउनेतर्फ केन्द्रित राखेको छु । जसका लागि बहुउदेश्यीय भवन निर्माण गर्ने मुख्य एजेण्डा छ । संघको सचिवालय सुस्त छ, त्यसलाई चुस्त राख्ने पनि मेरा लक्ष्य हुन् । बृहत उद्योग वाणिज्य संघ निर्माण अभियानअन्र्तगत ३ हजार १ सय ४३ सदस्यबाट १० हजार सदस्य पु¥याउने लक्ष्यका साथ अघि बढ्ने योजनामा छु ।
त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तिनै तहका सरकारसँगको सहकार्यका उद्योगी र व्यावसायिक हितका कार्यक्रमलाई निरन्तरता दिने योजना मेरा छन् । अर्कोकुरा गुट उपगुट र राजनैतिक खिचातानीका कारण वास्तविक र सक्षम ब्यक्ति नेतृत्व तहबाट पछि हटुनुपर्ने अवस्था विगतले देखाएको छ । जुन सकारात्मक हुँदै होईन । भोलि त्यो सकुला वा नसकुला थाहा छैन । म महासचिव भएपश्चात अब दुई वर्षपछि हुने अधिवेसनमा समूहगत नेतृत्वमा जाने परिपाटी अन्त्य गर्ने प्रयास रहनेछ । उद्यमशिलता र उद्यमी के हो भन्ने सामान्य ज्ञान नभएकाहरु पनि राजनीतिक कारणले निर्वाचन जित्ने क्रम बढ्दो छ संघमा । तसर्थ पोखरा उद्योग वाणिज्य संघमा हाम्रो होईन राम्रो र सबल नेतृत्व हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने कुरा चुनौती नै भएपछि आफ्नो लक्ष्यका रुपमा लिएको छु ।
तपाई स्वतन्त्र उम्मेदवार हैन त ? जित पश्चात प्यानलबाट आएका अध्यक्ष र अन्य पदाधिकारीसँग समन्वय गरेर जान कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?
हेर्नुस् म उद्योग वाणिज्य संघमा राजनीति गर्न जाने होईन काम गर्न जाने हो । मलाई जोसुकै अध्यक्ष बनेर आए पनि संघको हितका लागि काम गर्न कुनै असहजता हुँदैन । संघको विधान र नीति नियममा रहेर अधिकार र कर्तब्य पूर्णत पालना गर्ने गराउने उद्देश्य बोकेको छु । राम्रो कामका लागि जति नै दबाब र प्रभावको सामना गर्नका लागि म सक्षम छु ।
नीतिगत एजेण्डामा बहस गर्ने र गराउने कुरामा जो अध्यक्ष भएपनि सहयोग गर्नुपर्छ । समग्रमा दुईवर्षे कार्यकालमा पोखराका हरेक उद्योगी व्यवसायीले सम्झनयोग्य र गर्व गर्न लायक बनाउनेछु । विगतमा पोखराको विकासका लागि बन्ने हरेक नीति निर्माणमा पोखरा उद्योग वाणिज्य संघ महत्वपूर्ण हिस्सा बन्ने गरेकोमा केहि वर्षयता त्यो फितलो बन्दै आएको छ ।
त्यसमा नेतृत्व र पदाधिकारी गम्भीर हुनै सकेनन् । व्यवसायीको संस्था मात्रै बनाएर पोखराको समग्र विकासमा हुनुपर्ने जबरजस्त भूमिका पनि पछिल्लो समयमा देखाउन सकिरहेका छैनन् । तसर्थ सम्बृद्ध पोखरा निर्माणका लागि सबै सम्भावनाहरुलाई समेटेर एउटा नेतृत्वदायी संस्थाका रुपमा पुनः उद्योग वाणिज्य संघलाई लैजान अध्यक्षसहित हरेक सदस्यसँग समन्वयकारी भूमिका खेल्न जो अध्यक्ष या सदस्य आएपनि मलाई कुनै असर गर्दैन ।
पोखरा उद्योग वाणिज्य संघ व्यावसायिक संस्थामा सिमित नभएर राजनीतिक संस्था बन्दै आएको आरोप आम पोखरेलीले लगाउन थालेका छन् । व्यावसायिक संस्थामा राजनीति भएकै हो ? कस्तो बन्नुपर्छ संघ ?
यो कुरा सत्य हो । पोखरा उद्योग वाणिज्य संघलाई राजनीति गर्ने थलोका रुपमा विकास गर्ने प्रयास भइरहेको छ । म स्पष्ट छु र ती साथीहरु जो विशुद्ध व्यवसायी संस्थामा आस्थाको राजनीति गर्छु भन्ने सपना देखिरहनुभएको छ, त्यसलाई हटाईदिनोस् । आस्थाकै राजनीति गर्ने भए स्थापित दलहरु नै छन् त्यताबाट तपाई अझै ठूलो पद र स्थानमा पुग्न सक्नुहुन्छ ।
तर उद्योग वाणिज्य संघमा बसेर काम गर्ने उद्देश्य राख्ने हो भने हरेक पदका व्यक्ति जिम्मेवार बन्नुपर्छ र राजनीतिक आस्थालाई बाहिरै राखेर आफु निकट दलभन्दा माथि उठ्नु आवश्यक हुन्छ । होला जो कोही पनि कुनै दल र सिद्धान्तमा आस्था राखेको तर संघभित्र बसेर दलको झन्डा ओढ्ने भनेको संघलाई थप कमजोर बनाउने हो । संघको गरिमा र विरासतलाई मेटाउनु हो ।

तपाईसँग आफुले जित्ने आधार के–के छन् । ?
मैले यसअघि भनेका तमाम कुरा नै मैले जित्ने आधार हुन् । यो कुरा आम मतदाता व्यवसायीलाई बुझाउन सकेको छु । त्यसबाहेक विगत लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेको छु । पोखरा उद्योग वाणिज्य संघको एक कार्यकाल सदस्य भएर काम गरीसकेको छु, जसले मलाई संघलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरिसकेको छ ।
व्यावसायिका समस्या के–के छन् भन्ने स्पष्टरुपमा बुझेको छु । त्यस्तै मदिरा व्यवसायी महासंघको केन्द्रीय महासचिवका रुपमा कार्य अनुभव मसँग छ । तसर्थ महासचिवको पदमा बसेर के– के कार्य गर्नुपर्छ त्यो हेक्का छ । मसँग रहेका एजेण्डाहरु नै मेरा जित्ने आधारका रुपमा लिएको छु । समग्रमा भन्नुपर्दा पोखरा उद्योग वाणिज्य संघको गरिमा कायम राख्न, व्यावसायिक हकहितका लागि समन्वयकारी भूमिका खेल्न, खस्कदै गरेको संघको आर्थिक अवस्था बलियो बनाउन, सम्मृद्ध पोखरा निर्माणका लागि नीतिगत बहस थाल्नका लागि आम मतदातालाई आफ्ना एजेण्डा बुझाउन सफल भएको छु ।
चुनावको संघारमा मैले भेटेका सबै मतदाताहरु म र मेरा एजेण्डाप्रति सकारात्मक पाएको छु । उहाँहरुको शुभकामना र आशिर्वाद पाइरहेको छु । अब उहाँहरुको यो सकारात्मक उर्जा र शुभेच्छासहित मत पनि मैले प्राप्त गर्नेछु, जसले मलाई जित सुनिश्चित गराउनेछ ।




Comments are closed.