पोखरा । टिडिआर बिजनेस हाउस प्रा.लि. अन्तर्गत इकमर्स साइट सञ्चालनमा आउने भएको छ । कम्पनीले टिडिआर अनलाइन स्टोर सञ्चालनको तयारी गरेको हो । पोखरा सहित राजधानी काठमाडौं, चितवन लगायतका शहरमा होम डेलिभरी सेवा प्रदान गर्ने गरी तिहार लगत्तै कम्पनीको व्यावसायिक सुरुवात हुने सञ्चालक रमेश खाँण ठकुरीले आर्थिक आवाजलाई जानकारी दिए ।
मुख्य कार्यालय पोखरामा रहने र देशका अन्य शहरमा शाखाहरु विस्तार गरिने उनले बताए । व्यवसाय सञ्चालनका लागि अनलाइन प्लेटफर्मको विकास भइरहेको र काम अन्तिम चरणमा पुगेको ठकुरीले जानकारी दिए ।
कम्पनीले भारतमा निर्मित माउन्टेन साइकल र रनिङ मेसिन (ट्रेड मिल) लगायतका सामान आयात गर्ने तयारी गरेको छ । ‘पहिलो चरणमा जाडोलाई लक्षित गरी सामानहरु आयात गर्दै बिक्री वितरण गरिनेछ,’ उनले भने ।

व्यावसायिक क्षेत्रमा अनलाइन सपिङको भविष्य राम्रो रहेकाले आफूहरुले इकमर्श साइट सञ्चालनको तयार गरेको ठकुरीले बताए । ‘गुणस्तरीय सामानहरु उपभोक्ताले अनलाइनकै माध्यमबाट खरिद गर्न सक्नेछन्,’ उनले भने ।
जय कालिका प्लाष्टिक उद्योगका सञ्चालक समेत रहेका खाँणले टिडिआर बिजनेस हाउस अन्तर्गत विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।





Comments are closed.