लमजुङ। राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ३ हर्सिङडाँडा पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । हर्सिङडाँडामा आन्तरिक पर्यटक घुम्नफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको हो ।
ऐतिहासिक एवं पर्यटकीय स्थलमा गत वर्ष दैनिक एक सयदेखि दुई सय जना पर्यटक आउने गरेको र यस वर्ष पनि वर्षा सकिनासाथ दैनिक ४० जनाको हाराहारीमा पर्यटक आउन थालेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङ बताउछन् ।
अब विस्तारै मौसम खुल्दै जान थालेपछि र बाटासमेत राम्रो भएकाले पर्यटकको आवागमन बढ्ने स्थानीय सुरज गुरुङले बताउछन्। कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भएसँगै यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको हो । यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरालगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ ।

त्यस्तै, दक्षिण एशियाकै नमूना घलेगाउँ डाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनासलु रेन्स, बुद्ध हिमाललगायतका अवलोकन गर्न सकिन्छ ।विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउने, छेलो हान्ने गरेको स्थानीयको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीयस्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकारवाला एकजुट हुनुपर्ने मर्स्याङ्दी गाउँपालिका-३ का निर्वतमान वडाध्यक्ष प्रेमबहादुर बस्नेत बताउछन् ।




Comments are closed.