काठमाडौ । दाङको तुलसीपुर-७ गणेशपुर स्थित राप्ती शान्ति उद्यानमा दिनहुँजस्तो भीडभाड हुन्छ । टिकटक बनाउने हुन् या अवलोकन गर्नेका कारण दैनिकजसो यहाँको पार्क भरिभराउ हुन्छ ।
गेट प्रवेश गरेलगत्तै देखिने बुद्धको मूर्ति हेर्न पनि उत्तिकै घुइँचो लाग्छ । यहाँको वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन पनि पर्यटक झुम्मिन्छन् । “सामुदायिक वनको यो पार्क सुन्दर छ,” पार्कका अध्यक्ष डिल्ली भण्डारीले भने, “त्यसमा पनि बुद्धको मूर्ति निर्माण गरेपछि झनै पर्यटक बढेका छन् ।”
उनका अनुसार दैनिक चारदेखि पाँच सयसम्म पर्यटक यहाँ आउँछन् । विद्यार्थीलाई प्रवेशमा ५० प्रतिशत छुट छ । अपाङ्गता भएका व्यक्ति, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।

त्यो बाहेक अन्यले रु ३० को टिकट काट्नुपर्छ ।भित्र प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतमबुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् ।
अलि भित्र पस्दा पानीको फोहोरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चा लगायतका जनवारसँग पनि पर्यटकहरु उत्तिकै रम्ने गरेका छन् ।
त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरु उत्तिकै झुम्मिएका देखिन्छन् । चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरुले खेल्ने सामग्री राखिएको छ ।
गणेशपुरपार्कमा बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट घुम्न आउनेक्रम बढेको छ । बाहिरबाट दाङमा काम विशेषले आएकाहरु पनि पार्कको अवलोकन नगरी फर्किंदैनन् । सपना चौधरी बाँके राप्ती सोनारी निवासी छन् ।
“म पहिले पनि यो पार्क हेर्न आएकी थिएँ, दिदीको घर आउँदा सधैँ यो पार्कमा आउने गर्छु,” उनले भने, “यहाँ घुम्दा आनन्द आउने भएकाले पनि म यहाँ आउँछु ।”




Comments are closed.