शुरु भयो ‘रोक, हेर र जाउँ’ अभियान

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ ।

सवारी चलाउँदा ट्राफिक सङ्केत, अपनाउनुपर्ने सावधानीजस्ता नियमको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकले लापरवाहीपूर्ण तरिकाले जथाभावी बाटो पार गर्ने गरेको पाइएकाले उक्त अभियान थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाको शाखा सडकबाट मूल सडकमा सहजै ट्राफिक सङ्केतको पालना गराउन ३८० स्थानमा ट्राफिक प्रहरी खटाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। “भित्री सडकबाट मुख्य सडकमा निस्कँदा ‘पर्ख, हेर र जाउँ’ भन्ने ट्राफिक नियम कतिपय सवारी चालकले पालना नगरेकाले दुर्घटनासमेत हुने गरेको छ, त्यसैले नियम पालना गराउन तथा सिकाउन चोकमा ३८० ट्राफिक प्रहरी खटाइएको हो”, महाशाखाका प्रमुख ढकालले भने।

footwear zone

उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोकमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन उक्त अभियान थालिएको महाशाखाको भनाइ छ । बुधबारबाट शुरु भएको अभियानमा एकै दिन तीन हजार ५०० चालकलाई उक्त सङ्केत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाइबुझाई पालना गर्न सचेत गराइएको छ । काठमाडौँ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको सङ्केत बोर्डको पूर्ण पालना गर्ने शर्तमा चालकलाई छाडिएको प्रहरीले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकले स्वअनुशासित भई उक्त ‘रोक, हेर र जाउँ’को नियम पालना गरी जाम तथा दुर्घटनारहित यात्रा गर्न पनि माहशाखाले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.