गाउँ–गाउँमा ट्राफिक प्रहरी

बनियानी। जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिए । जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए । माघ ४ गतेदेखि सञ्चालित अभियानअन्तर्गत ग्रामीण भेगका ३८ स्थानका सडकमा ट्राफिक चेकिङ, सवारी चालक, सहचालक र सर्वसाधारण गरी एक हजार ६ सय ५ लाई ट्राफिक शिक्षा प्रदान गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै हुस्सु र रातको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा फग लाइट र टल्किने स्टिकर टाँस्न थालिएको छ भने सवारी चालक तथा सहचालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन निर्देशन दिँदै आइएको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।

footwear zone

जिल्लामा बढ्दो कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ‘तपाईको माक्स खोइ ?’ अभियानअन्तर्गत सार्वजनिक यात्रुबाहक सवारी साधनमा यात्रा गर्ने यात्रु, चालक र सहचालकलाई अनिवार्य माक्स तथा सेनिटाइजर राख्न निर्देशन दिइएको उनको भनाइ थियो ।

सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले ध्यान दिनुपर्ने कुराहरु समेटिएको पर्चासमेत ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियानअन्तर्गत ट्राफिक प्रहरीले गाउँ–गाउँमा वितरण गर्दै आएको छ । गाउँघरमा निर्माण गरिएको नयाँ कालोपत्रे सडकमा ट्रिपर, ट्रक, मोटरसाइकल तथा कार तीव्र गतिमा गुडाउँदा दुर्घटना बढेकाले सोको न्यूनीकरणका लागि पनि अभियान सञ्चालन गरिएको हो ।

“ट्राफिक प्रहरी सहर केन्द्रित भएकाले गाउँतिर निर्माण गरिएका नयाँ कालोपत्रे सडकमा तीव्ररुपमा सवारी साधन चलाउँदा दिनहुँ दुर्घटना भइरहेको छ”, प्रमुख चापागाईंले भने, “त्यसैले गाउँ केन्द्रित अभियान थालिएको हो ।” अभियान सञ्चालन गरेसँगै ग्रामीण भेगका सडकमा हुने सवारी दुर्घटना न्यून हुँदै गएको बताइएको छ ।

You might also like

Comments are closed.