बाँझो जग्गा कृषि वनमा परिणत हुँदै

हरि बाँस्तोला/गण्डकी । पोखरा महानगरपालिका–१६ अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा विस्तार गर्ने अभियान थालिएको छ ।

परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकतालाई दृष्टिगत गर्दै डिभिजन वन कार्यालय कास्की र स्थानीय समुदायको समन्वयमा सो क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन गर्न लागिएको हो । लामो समयदेखि बाँझिएको सो क्षेत्रको पाँच सय रोपनी क्षेत्रफलको निजी जग्गामा अलैंची, कागती, टिमुर, निवुवा, कफी, सुन्तला, पाउलोनिया, आँप, एभोकाडो, किवी, लिचि, तेजपात,अनारलगायतका एक लाखभन्दा बढी बिरुवा रोपिएको छ ।

कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालशोभा गुरुङका अनुसार नेपाल सरकारको वृक्षारोपण १० वर्षे रणनीति अनुसार २०७३ सालमा पाँच हजार अलैंचीका बिरुवा रोपेर अभियान शुरु गरिएको हो ।

footwear zone

कुरदेखि, डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको पाँच सय रोपनी जग्गामा प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरुवा क्रमिकरुपमा रोप्दै आएको उनले बताए । साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको छ ।

डिभिजन वन कार्यालय कास्कीले निःशुल्क बिरुवा उपलव्ध गराउनाका साथै ढुवानीको समेत व्यवस्था एवं खाल्टा खन्न समेत आर्थिक सहयोग गर्दै आएपनि स्थानीयवासी कृषकहरु आप्mनो जग्गालाई कृषि वनका रुपमा विकास गर्न उत्साहित भएको समूहका सचिव जितबहादुर बस्नेतले बताए ।
“बाँझो जङ्गतमा परिणत भएको निजी जग्गामा लामो समयसम्म आम्दानी लिन सकिने र वातावरणमैत्री कृषि वनको रुपमा विकास गर्ने अभियानमा जुटेका छौं”, उनले भने, “शुरुका दिनमा लगाएको अलैंची र टिमुरका बोटले उत्पादन दिन थालेका छन् ।”

सो क्षेत्रमा छ बर्षको अवधिमा कुल ३५ हजार अलैंची, १० हजार कफी, एक हजार सात सय टिमुर, दुई हजार ५०० एभोकाडो, किवी एक सय,अम्वा दुई हजार, आँप एक हजार, लप्सी पाच सय, कुरीलो दुई सय र ठूलो परिणाममा राईखनियो,इपिलइपिल, पाउलोनिया लगायतका डालेघांसका बिरुवा रोपिएको उनले बताए ।

वन कार्यालयले खाल्टा खन्नको लागि समूहलाई हालसम्म तीन लाख १५ हजार रुपैया उपलव्ध गराएको सचिव बस्नेतले राससलाई बताए। कृषकले रोपिएका विरुवाको संरक्षणका साथै प्रत्येक वर्ष गोडमेल समेत गर्दै आएका छन् । समुन्द्री सतह एक हजार एकसयदेखि एक हजार तीनसयसम्मको उचाईमा रहेको सो क्षेत्रका कृषकहरु दवदवे हिलोमा खेत रोप्ने बेला बाँझो जग्गामा वृक्षारोपणका लागि झाडी फाडने, खाल्टा खन्ने र बृक्षारोपणमा व्यस्त देखिएका छन् ।

वृक्षरोपण दिवस
वृक्षरोपण दिवस २०७८ को अवसरमा सोमबार अर्मलास्थित पात्लेमा जडिबुटी प्रजातिको टिमुरका बिरुवा रोपियो । कृषि वन कार्याक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहको आयोजना एवं डिभिजन वन कार्यालय कास्की कृषि वन प्रवद्र्धन तथा विस्तार कार्यक्रमको आर्थिक सहयोग वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले टिमुरको विरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको उचित संरक्षण गरेर बढी भन्दा बढी फाईदा लिन स्थानीयबासीलाई आग्रह गरे ।

सो क्षेत्रमा यस वर्ष १५ हजार अलैंची, १२ हजार टिमुर, पाँच हजार कफी, कुरीलो दुई सय ५० र अन्य अम्वा, आँप, अनार, लिची, कागती र डालेघाँस गरी कुल ३३ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

वृक्षारोपण कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वन निर्देशक केदारनाथ पौडेल, डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, सव डिभिजन वन कार्यालय कुँडहरका ममता शर्मा, लगायत स्थानीय बासिन्दाको सहभागिता थियो । रासस

You might also like

Comments are closed.