सडकको विकासले पदमार्गको बिनास, नयाँ पदमार्ग खोजीमा चासो

तारा चापागाई/रविना ढकाल ।  लमजुङबाट सुरु हुने अन्नपूर्ण पदयात्रा अहिले मनाङको कङसारसम्म मोटरबाटो पुगेपछि यात्रा छोटिएको छ । अन्नपूर्ण राउण्ड पास गरिसकेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरभन्दा माथि फेदीसम्म मोटरबाटो पुगिसकेको छ । २ सय १० किलोमिटर लामो यो पदयात्रा छोटिएर करिब ३० किलोमिटरमा झरिसकेको छ ।

यो पदयात्रामा हिड्ने पर्यटकले १÷२ लाख रुपैयाँसम्म खर्च गर्थे । अहिले मोटरबाटोले यात्रा छोटिएपछि पर्यटकले १५÷२० हजार रुपैयाँ भन्दा बढी खर्च गर्दैनन् । छोटो पदयात्रामा अन्तर्राष्ट्रिय क्षेत्रमै प्रसिद्ध घोरेपानी पुनहिल पदयात्रा पनि छोटिएको छ । यो पदयात्रामा पर्ने घान्दु्रक, लान्दु्रकसम्म मोटरबाटो सुरु भएपछि पदयात्राको दुरी घटेको हो । पदयात्राका लागि अर्को प्रसिद्ध सिक्लेसम्म पनि अहिले गाडीमै यात्रा हुन्छ । अन्नपूर्ण सर्किट र घोरेपानी पुनहिल पदयात्रालाई मात्र होइन, नेपालका धेरै पदमार्गमा मोटरबाटोले असर गरेको छ ।
नेपालमा आउने पर्यटक मध्ये धेरै पर्यटक पदयात्राको लागि आउँछन् । तर, पछिल्लो समय पदयात्रामा मोटरबोटो खनिदिदा पदयात्रा खुम्चिन पुगेको हो । नेपालमा विदेशी पर्यटकको बसाईं लम्ब्याउने भनिरहदा विभिन्न पदमार्गमा पदयात्राका लागि आउने पर्यटकको बसाईं बढ्नुको सट्टा घट्ने गरेको छ ।

म्याग्दी तातोपानी कुण्डमा व्यवसाय गर्नुभएका अमृत शेरचन मोटरबाटोको कारण व्यवसायमा ठुलो असर गरेको बताउछन् । ‘जबदेखि मोटरबाटो खुल्यो विदेशी पर्यटक आउन छोडे, पहिला वर्षमा २५ देखि ३० हजार पर्यटक आउथे । अहिले २ हजार देखि २ हजार ५ सय आउँछन् । त्यहीपनि कोभिडको कारण आउन छाडे,’ उनले भने । पदमार्गमा मोटरबाटोको गरेको असरले विदेशी पर्यटक नगन्य छन् । पहिला ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली हुनेगर्थे भने अहिलेठिक उल्टो अवस्था रहेको उनको भनाइ छ ।
मोटरबाटो धुलाम्मे सडक भएकाले पर्यटक आउन नचाहेको शेरचन बताउछन् । शेरचनमात्र नभई पदमार्ग क्षेत्रमा व्यवसाय गर्ने अन्य धेरै व्यवसायी विस्थापित भएका छन् ।

footwear zone

कोभिड १९ का कारण यतिबेला नेपालमा पर्यटक आउने अवस्था नभएपनि आगामी दिनहरुमा पदमार्ग जोगाउनका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशील पौडेलले बताए । ‘पदयात्रा र मोटरमाटो फरक हुनुपर्ने हो,’ उनले भने । तर, पदमार्गबाटै मोटरबाटो खन्ने गरिएकाले पदयात्रा छोटिएको उनको गुनासो छ ।

‘अव्यवस्थित मोटरबाटोले पदमार्ग मासिएका छन्, नमासिकन बनाउनुस ्भन्दा हामीलाई विकास विरोधी भन्छन्,’ उनले भने, ‘नेपालका कतिपय पदयात्रा संसारमै लोकप्रिय मध्येमा पर्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध पदयात्राहरु मध्येमा पर्छ अन्नपूर्ण सर्किट । प्रसिद्ध अन्नपूर्ण सर्किट पदयात्रा भने मोटरबाटोको शिकार बनेको छ । २१ दिनसम्मको प्याकेजमा यात्रा गरिने यो रुट अहिले घटेर ४÷५ दिनमा पुरा गर्न सकिन्छ ।’

आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गर्नुभएका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिे । उनका अनुसार गाउँपालिका, नेपाल पर्यटन बोर्ड र टानका प्रतिनिधि लगायतका २५ जनाको टिमले स्थलगत अध्ययन गरि शनिबार फर्किएका हुन् ।

२१ दिनको पदमार्ग १० दिनमा झर्नु दुःखद भएको बताउछन् पर्यटन बोर्डका सदस्य विप्लव पौडेल । बाटो निर्माणले पर्यटकको बसाईं घटाएको उनको दावी छ । हिमालका सुन्दर दृश्य डाँडाकाडा हेर्न चाहनेलाई धुलोधुँवा प्रदुषणले उत्तिकै असर गरेको छ जसका कारण पदमार्ग हुदै हिमाल डाँडाकाडाँ हेर्दै जाने सोचका साथ नेपाल आएका पर्यटक पनि गन्तव्य नपुगी फर्कन्छन् । बल्लतल्ल जानेहरुपनि अरुलाइ नजाने सिफरिस गर्छन् ।

पोखराको मुख्य पर्यटकिय केन्द्र लेकसाइडमा ‘थ्रि सिस्टर ट्रेकिङ एजेन्सी’ संचालन तथा पर्यटन व्यवसायी लक्की क्षेत्रीले पदमार्गमा मोटरबाटो निर्माण भएपछि धेरै स्थानीय महिला व्यवसायीहरुले व्यवसाय छोडेर विस्थापित भएको गुनासो गरे । पर्यटन व्यवसायबाट अलग पहिचान बनाउन सफल क्षेत्रीले पर्यटन व्यवसायमा करिब तीन दशक लामो मिहेनतबाट ‘नाम र दाम’ दबै कमाउन सफल उहाँसंग पदमार्गका धेरै अनुभव छ । ‘पदयात्री सानो सानो गाउँ हुँदै जान्थे, धेरै मोटरबाटो बनिसक्दा ठुला होटलहरुलाई फाइदा भएपनि त्यहाँ पसल, होटल रेष्टुरेण्ट थाप्ने र गर्जो टार्नेसाना व्यवसायी महिला विस्थापित भएका छन्,’ उनले भनिन् ।

मोटरबाटो निर्माण पछि सकारात्म पाटो,हिड्न नसक्नेहरुलाई केही राहत भएपनि धेरै व्यवसायीहरु मर्कामा परेको उनको भनाइ छ । ‘मोटरबाटो बन्दा मुक्तिनाथ दर्शन गर्नेको घुइचो लागेसँगै त्यहाँको उत्पादनले बजार पाएकाले समग्रमा हेर्दा फाइदा वेफाइदा दुवैछ,’ ‘मोटरबाटो बनेपछि वैकल्पिक पदमार्गको व्यवस्था पनि गर्न सकेमा धेरै राम्रो हुन्छ ।’ उनले भनिन्, पहिलाको तुलनामा अहिले पदमार्गमा कम पर्यटक आउने गरेको स्थानीयको भनाइ छ । पर्यटक कम आएकै कारण व्यवसाय पनि राम्रोसँग संचालन गर्न नसकेको अवस्था रहेको म्याग्दीको शिखामा होटल व्यवसाय गरेकी सोफी पुनले बताइन् ।

पर्यटनका सम्भावना हुँदाहुँदै पनि कतिपय कामहरुमा सम्बन्धित निकायको आँखा नपुगेको बताउनछन् म्याग्दीअन्नपूर्ण गाउँपालिका–४ का अध्यक्ष डमबहादुर पुन । अन्नपूर्ण ५ खोप्राङमा अहिले एउटा मात्र होटल रहेको र त्यहाँका कम्तीमा पनि १५ वटा होटल संचालन गर्नुपर्ने उनको भनाइ छ । “पदमार्ग साँघुरो बन्दै जादा व्यवसायी त विस्थापित भए नै, पर्यटकको संख्या पनि घट््यो । तर, केहि आएका पर्यटक पनि खान बस्न होटलको समस्या छ । लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध रहनुभएका पुनले स्थानीयको चाहाना अनुसारनै मोटरबाटो लानु परेको र जसका कारण सानातिना व्यवसाय गर्नेहरु विस्थापित हुनुपरेको बताउछन् ।

पोखराबाट आएका टान लगायत पर्यटनसंग आवद्ध संस्थाका २५ जना प्रतिनिधिको टिमसंग अन्नपूर्ण नर्थवेश क्याम्प नयाँ पदमार्ग खोल्ने तयारीका लागी सो स्थानमा पुगेको जानकारी गराए । उनका अनुसार अब बन्न लागेको उक्त पद मार्गमा जान ३ दिन र फर्कन २ दिन गरि ५ दिन लाग्नेछ ।

नयाँ पदमार्ग सिर्जनागर्न सकिन्छ : पर्यटन बोर्ड
पुराना पदमार्ग नासिदै गएपनि विकल्पमा नयाँ पदमार्ग खोल्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशी भण्डारी बताउछन् । नेपालको परिप्रेक्षमा पदमार्गमा जाने बाटोको कमी नरहेको उनको भनाइ छ । ‘हिड्न नसक्नेहरुका लागि जब मोटरबाटो खुल्यो भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्नेको घुइचो लाग्यो । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ,’ भण्डारीले भने । बाटोको असुविधा भोग्ने गरेका स्थानीय बाटो निर्माणपछि खुशी रहेको उनको भनाइ छ ।

पुरानो पदमार्ग विस्थापित भए भनेर चिन्तित नभइ नयाँ पदमार्गको खोजी गरिनुपर्ने भण्डारी बताउछन् । ‘रुख काट्यो भने हामी नयाँ रुख रोप्छौ, पदमार्ग पनि त्यही हो,’ उनले भने, ‘स्थानीयको चाहाना अनुसार बाटो खनिएको छ, हामी विकल्प खोज्न सक्छौं । खोलिएका बाटाहरुले विकासमा फाइदा पुर्याएको छ । अब नयाँ पदमार्गको खोजी भने गर्नुपर्छ ।’

मोटरबाटो भुगोलका हिसावले बनाउनुपर्ने भएकाले पदमार्गका लागिपनि विकल्प हेरेर अगाडि बढ्न सकिने उनको भनाइ छ । ‘पर्यटन क्षेत्रमा बन्न लागेका नयाँ पदमार्गमा टुरिजम बोर्डको सहयोग रहन्छ,’ उनले भनिन्े, ‘मोटरबाटो पटकपटक बनाउन सकिन्न,पदमार्ग पुनःबनाउन सकिन्छ ।’

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भैरहेको बताउँदै उनले टुरिजम बोर्ड यस्तो अभियानमा सहयोग गर्ने बताए । ‘विकासको नाममा विनाश गर्न भएन् । तर, विकल्प खोजेर दुवैलाई समेटेर जान सकिन्छ,’ भण्डारीले भने ।

नेपालको पर्यटनमा प्रमुख आकर्षण पदयात्रा हो । पदयात्रा बिना नेपालको पर्यटनलाई विश्व बजारमा चिनाउन र पर्यटकलाई आकर्षित गर्न सकिदैन । पर्यटनको दीगो विकासका लागि पदयात्राको संरक्षण र नयाँ पदमार्गको खोजीमा राज्य र सरोकारवालाहरु लाग्नुपर्ने देखिएको छ ।

You might also like

Comments are closed.